प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ। अन्य चारजनाको उपचार भइरहेको छ। अरु दुई जना फार्मर र प्रहरीको सुरक्षामा छन् भने एकजना बेपत्ता रहेको तेल अभिवस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । यद्यपि यसबारे दूतावासले औपचारिक जानकारी गराएको छैन ।
गैरआवासीय नेपाली संघ (एनआरएन) इजरायलका अध्यक्ष कृष्ण भण्डारीले दिएको जानकारीअनुसार, हमासको आक्रमणमा मृत्यु हुनेमा कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, कैलाली बौनिया-३ का आशीष चौधरी, दार्चुला लेकमा-५ का दीपेशराज विष्ट, दार्चुला मालिकार्जुन-४ का लोकेन्द्रसिंह धामी, बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपाली, धनुषा सपाही-६ का आनन्द साह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनली- ३ का राजन फुलारा, डोटीकै लमिखाल-८ का पदम र सल्यान सारदा-३ का प्रवेश भण्डारी छन्।
अन्य चार जना अस्पतालमा उपचाररत छन् । घाइतेहरूमा सल्यान सारदा २ का विधान सेजवाल, दाङ दङ्गिशरण ३ का प्रवीण डाँगी, कैलाली टीकापुर ९ का धनबहादुर चौधरी, गोरखा-८ गोर्खाका हिमान्चल कट्टेल र कंचनपुर भीमदत्त-३ का विपिन जोशी छन्। सल्यान त्रिवेणी-१ का प्रमोद केसी बोस कस्टडी (रोजगारदाता किसानको संरक्षणमा) र कैलाली भजनी त्रिशक्ती-४ का वीरेन्द्र चौधरी प्रहरी कस्डडीमा सुरक्षित छन् ।
१७ जना नेपाली विद्यार्थी रहेको सेदोत नेगेभमा हमासको आक्रमणपछि हिजो १७ मध्ये १२ नेपाली विद्यार्थी सम्पर्कविहीन थिए । तीमध्ये १० जनाको मृत्यु भएको अध्यक्ष भण्डारीले बताए ।प्रभावित सबै विद्यार्थी सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायअन्तर्गत (टिकापुर बहुमुखी क्याम्पस) का रहेको बताइएको छ ।इजरायलमा सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत कुल २ सय ६५ विद्यार्थी इजरायल गएका छन् । तीमध्ये ४९ जना सुदूरपश्चिम विश्वविद्यालयका हुन् । त्यसमा पनि प्रभावित १७ जना सुदूरपश्चिम विश्वविद्यालयकै हुन् ।