एमाले सुदुरपश्चिम प्रदेश अधिवेशनः अध्यक्ष पदमा चार जनाको उम्मेदवारी दर्ता
2023/10/10, 1:25
 
ss

 नेकपा एमालेको सुदूरपश्चिम अध्यक्ष बन्न ४ जनाको उम्मेदवारी दर्ता भएको छ। धनगढीमा जारी प्रदेशको प्रथम अधिवेशन अन्तरगत अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको हो। अहिलेसम्म बहालवाला प्रदेश कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, प्रदेश सचिवालय सदस्यत्रय कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र बचनबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन्।

उनीहरूमध्ये सिंहबाहेक अरु तीनै जना अछामका हुन् भने सिंह कञ्चनपुरका हुन्। निर्वाचन समितिले मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो। अहिले पनि उम्मेदवारी दर्ता भइरहेको छ। साढे ११ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए। उम्मेदवारी फिर्ता गर्न निर्वाचन समितिले साढे १२ बजेदेखि २ बजेसम्मको समय दिएको छ।

निर्वाचन तालिका अनुसार मंगलबार दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। निर्वाचन समितिले दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन गर्ने र बेलुकी ५ बजेदेखि मतदान सुरू गर्ने बताएको छ।