महाकाली नदी किनारमा खुला बिच भलिबल हुने
2023/10/10, 1:26
 
ss

कञ्चनपुरको महाकाली नदी किनारामा रु एक लाख पुरस्कार राशिको खुला बिचभलिबल प्रतियोगिता हुने भएको छ । यहाँस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक र कञ्चनपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा पहिलोपटक प्रथम पुरुष खुला तथा भेट्रान भलिबल प्रतियोगिता यही  असोज २९ गतेदेखि आयोजना हुन लागेको हो ।

आयोजकले सोमबार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी यहाँको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित भाइरल रोड छेउमा रहेको महाकाली नदीमा बिचभलिबल आयोजना गरिने जानकारी गराएको छ । नेपाली सेनाले सैनिक–नागरिक सम्बन्ध थप सुदृढ गर्नुका साथै खेलाडी उत्पादन र खेलकुदको विकासमा टेवा पुग्ने लक्ष्यसहित उक्त आयोजना गर्न लागेको जनाएको छ ।

प्रतियोगिता मूल आयोजक समिति संयोजक एवं भलिबल सङ्घका जिल्ला अध्यक्ष श्यामसिंह मौनीले खेलकुदको विकाससँगै यहाँका पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा समेत आयोजनाले बल पुग्ने बताए । “शुक्लाफाँटाबाट झोलुङ्गे पुल हुँदै भाइरल रोडसम्म पर्यटक आवागमन बढ्ने अनुमान छ”,  उनले भने, “त्यसका लागि सरकारी संयन्त्र र भलिबल सङ्घबीच सहकार्य भएर प्रतियोगिता आयोजना हुँदैछ ।” खुलातर्फ प्रथम स्थान हासिल गर्ने टिमले रु एक लाख नगद, ट्रफी र मेडलबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी द्वितीय हुने टिमले रु ५० हजार र तृतीय स्थान ओगट्ने टिमले रु २५ हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत गरिने संयोजक मौनीले जानकारी दिनुभयो । त्यसैगरी भेट्रान चालीस वर्षभन्दा माथि तर्फ पहिलो हुने टिमले रु २५ हजार, दोस्रोले रु १५ हजार र तेस्रो हुने टिम रु १० हजार नगद, ट्रफी र मेडलसहित पुरस्कृत हुनेछन् ।

प्रतियोगिता सञ्चालनका लागि विभिन्न उपसमितिसमेत गठन गरिएका छन् भने प्रतियोगिता सञ्चालनका लागि भीमदत्त , बेदकोट  र दोधारा चादँनी नगरपालिकाबाट पनि आवश्यक सहजीकरण भइरहेको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा सेनाको बाहिनी, गण र गुल्मका सैनिक अधिकृतका साथै भलिबल सङ्घका पदाधिकारीको सहभागिता थियो ।