कञ्चनपुर मझगाउँ विमानस्थल निर्माणको समयावधि सकिँदै
2023/10/29, 12:40
 
ss

कञ्चनपुरको मझगाउँ विमानस्थलः निर्माणको समयावधि सकिन थालेको छ। कञ्चनपुर भीमदत्त नगरपालिका–१६ स्थित मझगाउँ विमानस्थल निर्माण सम्झौताको समयावधि सकिन लाग्दा कामले अझै गति लिन नसकेको हो ।

तीन वर्षभित्र निर्माण पुरा गर्ने गरी कान्छारामरकेएसरउमा एन्ड कम्पनीसँग सम्झौता गरिएको थियो। २०७८ सालमा तीन वर्षभित्र काम सक्ने गरी उक्त कम्पनीसँग ४५ करोड ६६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। तर निर्माणको समयावधि सकिन लाग्दा पनी ४० प्रतिशत प्रगति भएको छैन्। अझै ६० प्रतिशत काम बाँकी छ। उक्त विमानस्थल निर्माणले जग्गाको भोगाधिकार विवाद तथा निर्माण सामग्री अभावका कारण गति लिन नसकेको बताएको छ । मझगाउँ विमानस्थल आयोजनाका इन्जिनियर अंकित शर्माले विभिन्न कारण देखाउँदै कामले गति लिन नसकेको स्वीकार गरे।

विमानस्थल पुनर्निर्माणमा भीमदत्त नगरपालिकाको १५ प्रतिशत, दोधारा–चाँदनी नगरपालिकाको १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत र संघीय सरकारको ५० प्रतिशत लगानी रहेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको रत्न वाटिका र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकार लिने विषयमा विवाद भएको थियो। धावनमार्ग निर्माणका क्रममा निर्माण कम्पनीका उपकरण र कामदार निकुञ्जले नियन्त्रणमासमेत लिएको थियो।

काम सञ्चालन गर्न दिने मौखिक सहमति तथा भोगाधिकारका लागि प्रक्रिया अगाडि बढाउने भएपछि उक्त क्षेत्रमा धावनमार्ग निर्माणको काम भइरहेको छ। अहिलेसम्म विमानस्थल धावनमार्गको ९ सय मिटर सवबेस निर्माण भएको छ भने ९ सय मिटर नाली निर्माणको काम सकिएको छ। स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानीमा उक्त विमानस्थल पुनर्निर्माण भइरहेको हो।

मझगाउँ विमानस्थलमा अहिले एक हजार ५ सय २५ मिटर लामो धावनमार्गसमेत निर्माण गरिनेछ। विसं २०३४ देखि २०५७ सम्म सञ्चालनमा रहेको उक्त विमानस्थल सङ्कटकालका बेला सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो। त्यस समयदेखि उक्त विमानस्थल सञ्चालनमा आउन सकेको छैन।पहिलो चरणमा धावनमार्गसँगै ट्याक्सी वे र एप्रोनलगायतको काम र दोस्रो चरणमा टर्मिनल भवनदेखि पहुँचमार्ग निर्माण गरिने आयोजनाले जनाएको छ।