बैतडीमा आत्महत्या गर्नेको संख्या बढ्दो
2023/11/06, 12:09
 
ss

पछिल्लो समय बैतडीमा आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा छ । आत्महत्या गर्नेहरुमा पनि किशोर किशोरीहरु बढी देखिएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्याकं अनुसार पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दै गएको हो । प्रहरीको तथ्यांक अनुसार बैतडीमा चालु आर्थिक बर्षको अहिले सम्म १६ जनाले आत्महत्या गरेका छन् । जसमध्ये १० पुरुष, ५ महिला र एक बालिका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक बर्षमा १० पुरुष, ११ महिला, ३ बालिका र १ बालक गरी २५ जनाले आत्महत्या गरेका थिए । गत बर्षको तुलनामा यो बर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । यो बर्षको ४ महिना नबित्दै १६ जनाले आत्महत्या गरिसकेका र यो तथ्यांक निकै डरलाग्दो रहेको मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्नेहरुले बताएका छन् । बैतडीमा आर्थिक बर्ष २०७८/७९ मा ३६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । आर्थिक बर्ष २०७८/७९ मा २० पुरुष, ८ महिला, ४ बालक र ४ बालिकाले आत्महत्या गरेका थिए ।

यस्तै आर्थिक बर्ष २०७७/७८ मा २० पुरुष, १७ महिला, २ बालक र ४ बालिका गरी ४३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । विभिन्न मानसिक समस्या, लागु औषध, घरेलु हिंसा लगायतका कारण आत्महत्याका घटना बढ्दै गएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खत्रीले बताए । मानसिक तनाव लगायतका कारणले यस्ता घटना बढीरहेका उनले बताए ।