
फिफा विश्वकप फुटबलको छनोट अन्तर्गत बुधबार विहान भएको खेलमा ब्राजिल अर्जेन्टिनासँग पराजित भएको छ । अर्जेन्टिनाले यो खेल १–० गोल अन्तरले जिते पनि मैदान भित्र र बाहिर निकै तनावपूर्ण खेल रह्यो । ब्राजिल र अर्जेन्टिनाका समर्थकहरुबीच झडपनै भएपछि ब्राजिल प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि लाठी चार्ज गर्दा अर्जेन्टिनाका समर्थहरु घाइते हुन पुगे ।

जसका कारण खेल नै निर्धारित समयभन्दा २७ मिनेट ढिला गरी सुरु भएको थियो । यसैगरी ब्राजिलका एक खेलाडी रातो कार्ड पाउँदै मैदान पनि छाड्न पुगे । तनावपूर्ण खेलमा गत संस्करणको विश्वकप विजेता अर्जेन्टिनालाई जिताउनका लागि ब्राजिलको ऐतिहासिक मैदान माराकानमा निकोलस ओटामेन्डीले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
उनले खेलको ६३ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ८१ औं मिनेटमा ब्राजिलका जोलिन्टनले रातो कार्ड पाउँदै मैदान छाडेपछि ब्राजिल १० खेलाडीमा समेटिएको थियो । तर, त्यसको फाइदा भने अर्जेन्टिनाले उठाउन सकेन ।

सन् १९३० मा पहिलो पटक आयोजना भएको विश्वकप फुटवल प्रतियोगिताको महादेशीय छनौट प्रणाली भने १९३३ देखि सुरु भएको थियो । त्यस यता घरेलु मैदानमा कुनै पनि छनौट खेल नहारेको ब्राजिल लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनासँग बुधबार १–० गोल अन्तरले स्तब्ध बन्यो ।
यस्तै, अर्को खेलमा पेरु र भेनेजुएलाले भने एक एक गोलको बराबरी खेलेका छन् । भिक्टर योटुनले १७ औं मिनेटमा गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा जेफरसन साभारिनोले गोल गरेपछि भेनेजुएलाले बराबरी गरेको थियो ।
बुधबार विहानको नतिजापछि दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना १५ अंकका साथ शीर्ष स्थानमा छ भने उरुग्वे १३ अंकका साथ दोस्रो स्थानमा झरेको छ । केहीबेर उरुग्वे वुधवार शीर्ष स्थानमा रहेको थियो । त्यसैगरी कोलम्बियाले १२ अंक जोड्दै आफूलाई तेस्रो स्थानमा राख्दा भेनेजुएला ९ अंकका साथ चौथो स्थानमा छ । यस्तै इक्वेडर ८ अंकका साथ पाँचौं स्थानमा रहँदा ब्राजिल भने ७ अंकका साथ छैटौं स्थानमा छ । पाराग्वे, चिली, बोलिभिया र पेरु क्रम सातौंदेखि दशौं स्थानमा छन् ।