केपी ओलीका कपका लागि राजु रिजालको कप्तानीमा सुदूरपश्चिमको टोली छनौट
2023/11/24, 5:26
 
ss

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले केपी ओली कपका लागि राजु रिजालको कप्तानीमा खेलाडीको टुङ्गो लगाएको छ । मंसिर २ गतेदेखि धनगढीको फाप्ला मैदानमा खेलाडीहरुको प्रशिक्षण गराउँदै रिजालको कप्तानीमा नौ जना खेलाडी छनौट गरेको हो । 

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघ धनगढीले सुरुवातमा प्रदेशका क्यानमा आबद्ध ८ ओटै जिल्लाका २६ खेलाडीहरूलाई बन्द सत्रमा बोलाई अभ्यास गराएको थियो । बिहिबार सार्वजनिक गरिएको खेलाडी छनौटमा उपकप्तान नारायण जोशी रहेको प्रशिक्षक सन्तोष भट्टले बताए । उनले सुदूरपश्चिमको टोलीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका अनुभवी खेलाडी र युवाहरूको वर्चस्व रहेकाले टोलीले राम्रो नतिजा ल्याउने बताए । 

प्रतियोगिताका लागि खडक बोहरा, वसन्त सिंह कार्की जस्ता अनुभवी खेलाडीहरू रहेका छन् । त्यस्तै आयुब चन्द, किरण कुमार ठगुन्ना, गजेन्द्र बोहरा, विकास आग्री र भोजराज भट्ट रहेका छन् ।  सुदूरपश्चिम प्रदेश प्रतियोगिताको समूह ‘सी’ मा रहेको छ । समूह ‘सी’ मै नेपाल पुलिस क्लब र मधेस प्रदेश रहेका छन् ।  मङ्सिर ११ गते सुदूरपश्चिमले पहिलो खेल मधेस प्रदेशसँग खेल्ने छ ।