धनगढीका गोपीचन्द्र पार्कीले जिते नवौँ नेपालगञ्ज म्याराथनको उपाधि
2023/11/25, 12:26
 
ss

 धारा नवौँ नेपालगञ्ज म्याराथनको उपाधि एपीएफका गोपीचन्द्र पार्कीले जितेका छन् । नेपालगञ्ज म्याराथनमा उनको यो दोस्रो उपाधि हो । यसअघि उनले छैठौं संस्करणको उपाधि जितेका थिए । उनी धनगढीका वासिन्दा हुन् । उनको घर धनगढी उपमहानगरपालिका वडा नम्बर ९ गौरी कटानमा रहेको छ । 

नेपाल आर्मीका खडकबहादुर खड्कालाई उछिनेर पार्कीले उपाधि हात पारेका हुन् । एपीएफका किरणसिंह बोगटी तेस्रो भए । २०७८ को संस्करणमा किरण च्याम्पियन भएका थिए । उनी गत दक्षिण एसियाली खेलकुद सागमा ४२ किलोमिटर म्याराथनतर्फ नेपाललाई स्वर्ण दिलाएका खेलाडी हुन् । 

प्रथम भएका पार्कीले दुई लाख रुपैयाँ पुरस्कार जिते । उपविजेता खड्कालाई एक लाख र तेस्रो भएका बोगटीलाई ५० हजार रुपैयाँ दिइयो । हाफ म्याराथनको उपाधि फेरि पनि सन्तोषी श्रेष्ठले जितिन् । ह्याट्रिक जितसँगै उनले ७५ हजार रुपैयाँ पुरस्कार हात पारिन् । यसअघि हाफ म्याराथनमा उनले दुईपल्ट उपाधि जितिसकेकी थिइन् । 

गत वर्ष एक घण्टा १८ मिनेट ४८ सेकेन्डमा हाफ म्याराथन पूरा गरेकी सन्तोषीले ५१ हजार पुरस्कार पाएकी थिइन् । उनी १३औँ सागमा १० किलोमिटरतर्फ स्वर्णविजेत खेलाडी हुन् । हाफ म्याराथनमा फूलमति राना दोस्रो र पुष्पा भण्डारी तेस्रो भए । 

नेपालको दशक लामो सशस्त्र द्वन्द्वको अन्त्यको सन्देश बोकेको नेपालगञ्ज म्याराथनको नवौं संस्करण नेपालगञ्जमा  शनिबार सुरु भएको छ । नेपालगञ्जको बीपीचोकबाट बिहान ७ बजे म्याराथन सुरु भएको थियो । 

एसोसिएसन अफ इन्टरनेसनल म्याराथन्स एन्ड डिस्टेन्स रेसेस एम्सले मान्यता दिएको आधिकारिक रुटमा आयोजना भएको नेपालगञ्ज म्याराथन एम्सको वार्षिक क्यालेन्डरमा परेको नेपालको एक मात्र म्याराथन प्रतियोगिता हो ।