निसर्ग हस्पिटल अल स्टार्स स्पोर्टस धनगढीलाई उपाधि
2023/11/27, 10:04
 
ss

निसर्ग हस्पिटल अल स्टार स्पोर्टस् एकेडेमी धनगढीले लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि जितेको छ । फाइनलमा रौतहट महिला फुटबल एकेडमीलाई १–० ले हराउँदै धनगढी च्याम्पियन बनेको हो । 

नेपाल प्रहरी भरतपुर तालिम केन्द्रमा भएको खेलमा धनगढीलाई विजयी गराउन बिर्सना चौधरीले निर्णायक गोल गरिन् । उनले पहिलो हाफमा गरेको गोल नै धनगढीलाई जिताउन पर्याप्त भयो । बिर्सना नै प्लेयर अफ दि म्याच बनिन् । उनले पाँच हजार प्राप्त गरिन् । 

च्याम्पियन बनेको धनगढीले ट्रफी सहित रु दुई लाख प्राप्त गरेको छ । उपविजेतामा सीमित रौतहटले एक लाखमा चित्त बुझाएको छ । च्याम्पियन टिमकी कप्तान निरु थापा प्लेयर अफ दि टुर्नामेन्ट बनिन् । उनले ट्रफी सहित रु २० हजार प्राप्त गरिन् ।


धनगढीकी उषा नाथ प्रतियोगिताभरको उत्कृष्ट गोलकिपर, रौतहटकी समीक्षा घिमिरे उत्कृष्ट डिफेन्डर, रौतहटकै इशा रानामगर उत्कृष्ट मिडफिल्डर र धनगढीकी ममता पुनमगर उत्कृष्ट फर्वाड घोषित भए । 

यस्तै धनगढीका सुरज तामाङ उत्कृष्ट प्रशिक्षक बने । उनीहरूले जनही १०/१० हजार प्राप्त गरे ।  नारायणगढ लेडी जेसिजको आयोजना तथा चितवन जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा आठ टोली सहभागी थिए ।