बाजुराका कोटघर मर्मतसम्भार नहुँदा जीर्ण बन्दै
2023/11/30, 11:34
 
ss

बाजुराका विभिन्न ठाउँमा रहेका तत्कालीन राजाका दरबार ९कोटघर० जीर्ण बन्दै गएका छन् । बाइसे चौबिसे राजाको पालामा निर्माण गरिएका दरबार कोटघर मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएका हुन् । तत्कालीन राजा मुकुद्रबहादुर सिंहको पालादेखि निर्माण गरिएको बुढीगङ्गा नगरपालिका–१, कुडीकोट दरबार पछिल्लो पुस्ताको बेवास्ताका कारण जीर्ण बन्दै गएको स्थानीय बुद्धिजीवी जहरसिंह थापाले बताए।

सो दरबार कोटघरमा एक पटक एक्कासि आगलागी हुँदा कुँडीका राजा राजेश सिंहले पुनर्निर्माण गरेका हुन् । त्यसपछि कहीँ कतैबाट मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको जानकारी उनले दिए ।  ऐतिहासिक तथा पुरातत्व रूपमा महत्वपूर्ण मानिएका कोटघरलाई अहिले पनि उत्तिकै चासोका साथ हेरिने गरिन्छ । खप्तड छेडेदह गाउँपालिका–१, काँडाकोट दरबार र बुढीगङ्गा नगरपालिका–१ को कुँडीकोट दरबार जीर्ण अवस्थामा छन् । 

२०७५र७६ सालमा स्थानीय सरकारले दरबार मर्मत सम्भार गरेको भए पनि पुनः निर्माण नहुँदा जीर्ण बन्दै गएका हुन् । बुढीगङ्गा–४ मा रहेको बार्जुकोट दरबार पनि भग्नावशेष अवस्थामा बदलिएको छ ।   प्रदेश सरकारको आर्थिक सहयोगमा बार्जुकोट दरबार भएको स्थानमा भ्युटावर निर्माण गरेको भए पनि दरबार भने भग्नावशेष अवस्थामा नै रहेको छ । पुराना ती दरबारको स्थानीय सरकारले जीर्णोद्धार गर्न रकम विनियोजन गरेको बुढीगङ्गा–१ का वडाध्यक्ष रणबहादुर थापाले बताए।   

बार्जुकोट दरबारलाई पर्यटकीय क्षेत्र बनाएर संरक्षण गर्ने प्रयासस्वरूप सम्बन्धित पक्षसँग छलफल गरेका छौँ तर अझै सहमति हुन सकेको छैन, बुढीगङ्गा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँले बताए।