यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित
2023/12/12, 5:25
 
dd

यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । दुबईको आईसीसीए २ मैदानमा जितका लागि पाएको ५३ रनको सामान्य लक्ष्य भारतले बिना क्षति ७।१ ‍ओभरमा भेट्टायो ।

भारतका लागि ओपनर ब्याटर अर्हिन कुलकर्नीले ४३ र आदर्श सिंहले १३ रन बनाए । नेपालबाट ३ जना बलर प्रयोग भएको थियो, तर विकेट भने निकाल्न सकेनन् । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२।१ ओभरमा ५२ रनमा अल आउट भएको थियो । यू(१९ क्रिकेटमा नेपालको यो अहिलेसम्म्कै न्यून स्कोर हो। यसअघि नेपाल सन् २००८ मा वेष्टइण्डिज विरुद्ध ७४ रनमा अलआउट भएको थियो ।

नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन जोड्न सकेनन् । हेमन्त धामीले सर्वाधिक ८ रन बनाए । आकाश चन्द ४ रनमा अविजित रहे । नेपालका लागि टिकेर खेल्ने भर पर्दा ब्याटर अर्जुन कुमाल पनि क्रिजमा लामो समय टिक्न सकेनन्। अफगानिस्तानविरुद्ध ९१ रन बनाएका युवा ब्याटर अर्जुन ७ रनमा क्याच आउट भएका थिए। अर्जुन तीव्र गतिका बलर आराधाय शुक्लाको बलमा कभरमा सट खेल्ने धुनमा मुशिर अहमदबाट क्याच आउट हुन पुगे ।

नेपालका लागि भारतका तीव्र गतिका बलर राज लिम्बानी निकै भारी परे । उनले ९.१ ओभर बलिङ गर्दै ७ विकेट लिए। उनले दिपक बोहोरा, उत्तम थापा मगर, कप्तान देव खनाल, दिपक प्रसाद डुम्रे, दिपक बोहरा, सुवास भण्डारी र हेमन्त धामीलाई आउट गरेका हुन् । अर्का बलर आरध्य शुक्लाले २ र आर्हिन कुलकर्नीले १ विकेट लिए । प्रतियोगितामा नेपालको यो तेस्रो हार हो । यसअघि पाकिस्तान र अफगानिस्तानसँग पनि पराजित भएको नेपाल यू(१९ एसिया कप क्रिकेटमा समूह चरणबाटै घर फर्केको छ ।