एलपीएलको उपाधि सत्यवती एकेडमीलाई
2023/12/17, 11:40
 
ss

आठौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिगको उपाधि सत्यवती एकेडेमी, अत्तरियाले जितेको छ । कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले धनगढी स्पोर्ट्स क्लबलाई ५ रनले पराजित गर्यो । रोमान्चक खेलमा सत्यवतीले दिएको १२७ रनको लक्ष्य पछ्याएको धनगढी स्पोर्ट्सले १९।२ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनायो । धनगढी स्पोर्ट्सको ब्याटिंगमा बसन्त कार्कीले ३५, सुनिल धमलाले २८ तथा अमर सिंह रौटेलाले २७ रन योगदान दिएता पनि जितको लागि पर्याप्त हुन सकेन ।

लक्ष्य पछ्याउने क्रममा धनगढी स्पोर्ट्सले ३६ रनमा सुरुवात ५ विकेट गुमायो । छैठौं विकेटको लागि बसन्त कार्की र भुवन कार्कीले ३३ रनको साझेदारी गरे । भुवनको विकेट पछि सातौँ विकेटको लागि बसन्तले अमर सिंह रौटेलासंग ४३ रन जोडे । अठारौं ओभरमा अभिषेक कोइरालाले अमर सिंह रौटेलाको विकेट लिंदै सत्यवतीलाई खेलमा फर्काए । लगत्तै ओभरमा तृत राज दासले बसन्त कार्की र दिपक चन्दको विकेट लिए ।

जितको लागि अन्तिम ओभरमा १० रन आवस्यक हुँदा धनगढी स्पोर्ट्स क्लबसंग १ विकेट बाँकी रहेको थियो । अन्तिम ओभर बलिंग गरेका सन्दिप खत्रीले पहिलो बलमा वाइड र दोश्रो बलमा २ रन दिएपछि तेश्रो बलमा विकास आग्रीको रुपमा धनगढी स्पोर्ट्सले अन्तिम विकेट गुमायो ।

सत्यवतीको बलिंगमा प्लेयर अफ द म्याच समेत घोषित अभिषेक कोइरालाले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १५ रन खर्चिए । तृत राज दासले २ तथा फिर्दोश अन्सारी, सन्तोष कार्की र रञ्जित कुमारले १–१ विकेट लिए । यस अघि टस जितेर ब्याटिंग गरेको सत्यवती एकेडेमीले २० ओभरमा ६ विकेट क्षेतीमा १२६ रन बनायो । सत्यवतीको ब्याटिंगमा पाँचौ नम्बरमा ब्याटिंग गरेका सन्दिप रजालीले सर्वाधिक ४१ रन बनाए जुन क्रममा उनले ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

तृत राज दासले १३ बलमा अविजित २७ रन बनाए जुन क्रममा ४ चौका र १ छक्का प्रहार गरे । फिर्दोश अन्सारीले २२, सन्तोष कार्की र समिर कार्कीले समान १० रन बनाए । पावरप्लेमा ३ विकेट गुमाएको अवस्थाबाट चौथो विकेटको लागि सन्दिप रजाली र फिर्दोश अन्सारीले ६७ रनको साझेदारी गर्दै टिमलाई उकासे । आठौँ विकेटको लागि तृत राज र समिर कार्कीले अविजित ३६ रनको साझेदारी गरे । धनगढी स्पोर्ट्स क्लबको बलिंगमा दिपक चन्द, भोज राज भट्ट र भुवन कार्कीले २र२ विकेट लिए ।

विजेता सत्यवती एकेडेमीले विजेता ट्रफी सहित दुई लाख ५५ हजार र उपविजेता धनगढी स्पोर्ट्स क्लबले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाएका छन्।प्रतियोगिताको उत्कृस्ट खेलाडी तथा उत्कृस्ट बलर धनगढी स्पोर्ट्स क्लबका कप्तान समेत रहेका भुवन कार्की घोषित भए । कार्कीले ५ खेलमा १२ विकेट लिए। प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान शुक्लाफांटा ब्ल्याकबक्सका किरण ठगुन्ना घोषित भए जसले ३ खेलमा १३४ रन बनाए । प्रतियोगिताका उदयमान खेलाडी कैलाली जिल्ला क्रिकेट क्लबका सुधांशु रावल घोषित भए ।

विजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रि झपट बहादुर साउदले पुरस्कृत गर्नु भयो । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको थियो ।