एन्फा यू-१६ युथ लिगको खेल तालिका सार्वजनिक
2023/12/18, 1:59
 
anfa

अखिल नेपाल फुटबल संघ एन्फाले एन्फा पुस ९ देखि फेरि सुरु गर्न लागेको यू(१६ युथ लिगको खेल तालिका सार्वजनिक गरेको छ ।

एन्फाले सोमबार २६औं देखि ४४औं खेलसम्मको तालिका सार्वजनिक गरेको हो । जसमा पुस ९ मा मनाङ मर्स्याङ्दी क्लब र फ्रेण्ड्स क्लबबीच खेल हुनेछ । त्यही दिन त्रिभुवन आर्मी एफसी र चर्च ब्वाइज युनाइटेडबीच पनि खेल हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।

१० क्लब सहभागी युथ लिगको खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोको मैदान र च्यासल स्टेडियममा हुने एन्फाले जनाएको छ । एन्फाले युवा समूहदेखि नै पुटबलको विकास गर्ने उदेश्यसहित २९ असारदेखि पहिलो पटक एन्फा यू १६ युथ लिग सुरु गरेको थियो । तर सुरु भएको एक महिनापछि नै लिग स्थगित भएको थियो । त्यसको पाँच महिनापछि युथ लिग फेरि सुरु हुन लागेको हो । लिग रोकिनु अघि नेपाल पुलिस क्लब ११ अंकसहित शीर्ष स्थानमा छ । अपराजित पुलिसले ५ खेलमा ३ जित र २ बराबरीको नतिजा निकालेको थियो ।

लिगमा नेपाल पुलिस, एपिएफ, मछिन्द्र, संकटा, फ्रेन्ड्स, खुमलटार, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्याङदी  र एनआरटीको सहभागिता छ ।
ए डिभिजनका १२ मध्ये ८ टिम र बी डिभिजनमा घटुवा भएका दुई टिम एपीएफ र खुमलटारले युथ लिग खेल्दैछन् । ए डिभिजनका जावालखेल युथ क्लब, थ्री स्टार क्लब, सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबले भने सहभागिता जनाएको छैन ।anfa