झापासँगको पहिलो भेटमा धनगढीलाई अवसर
2023/12/20, 11:22
 
ss

नेपाल सुपर लिग २०२३ मा धनगढी एफसीले बुधबार हुने खेलमा झापा एफसीको सामना गर्नेछ । दशरथ रंगशालामा साँझ पाँच बजे हुने यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् ।

१. यो खेल यसपल्टको ३१ र समग्रमा ५६ औं खेल हुनेछ ।

२. धनगढी छ खेलबाट १२ अंकसहित दोस्रो स्थानमा छ र यसपल्टको प्रतियोगितामा अपराजित एक मात्र टिम रहेको छ ।

३. धनगढी पछिल्ला छ खेलमा अपराजित छ र प्रतियोगितको इतिहासमा यो अपराजित यात्राको कीर्तिमान हो । ललितपुर सिटी एफसी पनि छ खेलमा अपराजित रहेको थियो । अब धनगढीसामु अपराजित यात्राको नयाँ कीर्तिमान बनाउने अवसर हुनेछ ।

४. धनगढीका छ खेलमा तीन जित र तीन बराबरी रहेका छन् । उसले वीरगञ्ज युनाइटेडलाई २-१, बुटवल–लुम्बिनी एफसीलाई १-० र एफसी चितवनलाई १-० ले हराएको थियो । धनगढीले ललितपुरसँग गोलरहित, स्पोर्टिङ इलामसँग २-२ र काठमाडौं रेजर्ससँग १-१ को बराबरी खेलेको छ ।

५. धनगढीले यो खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिन सक्छ र प्ले-अफ खेल्ने निश्चित भएको दोस्रो टिम हुन सक्नेछ ।

६. झापा भने छ खेलबाट सात अंकमा छैटौं स्थानमा छ र उसले आफ्नो प्ले-अफ सम्भावना कायम राख्न यो खेल जित्नै पर्ने हुनेछ ।

७. झापाका छ खेलमा एकै जित मात्र रहेको छ । उसले बुटवल–लुम्बिनीलाई १-० ले हराएको हो । झापाले पोखरा थन्डर्ससँग १-१ सँगै काठमाडौं, वीरगञ्ज र ललितपुरसँग समान गोलरहित बराबरी खेलेको छ । झापा इलामसँग १–० ले पराजित रहेको थियो ।

८. झापाले छ खेलमा दुई गोल मात्रै खाएको छ र उसले पछिल्ला चार खेलमा क्लिन सिट राखेको छ । झापाले पछिल्ला ४३१ मिनेट कुनै गोल खाएको छैन् र यो पनि प्रतियोगिताको कीर्तिमान रहेको छ ।

९. झापाले यसै प्रतियोगिताबाट डेब्यु गरेको हुनाले धनगढीसँगको भेट पहिलो हुनेछ ।