प्रधानमन्त्री कपः सुदूरपश्चिमको दोस्रो जित
2023/12/24, 4:50
 
aa

 सुदूरपश्चिमले प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेका छ । आइतबार सम्पन्न खेलमा सुदूरपश्चिमले कर्णाली   प्रदेशलाई पराजित गरेको हो  ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले कर्णालीमाथि ८१ रनको सहज जित निकाल्यो । जितसँगै सुदूरपश्चिमले तीन खेलमा चार अंक जोडेको छ । तीनै खेलमा पराजित कर्णाली अंक विहिन छ ।

सुदूरपश्चिमले प्रस्तुत गरेको १ सय ५१ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभर नै ब्याटिङ गरेपनि नौ विकेट गुमाउँदै ७० रन मात्र बनाउन सक्यो । कर्णालीका लागि तिर्सना विश्वकर्माले २८ तथा अन्जु गुरुङ र रश्मि खड्काले समान १० रन बनाए । 

सुदूरपश्चिमका लागि जानकी थापाले तीन, कविता जोशीले दुई र मनिषा चौधरीले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १ सय ५१ रनको योगफल तयार पारेको थियो ।

सुदूरपश्चिमका लागि कविता जोशीले ५० बलमा १० चौका र एक छक्काको मद्दतले अविजित ७८ रनको योगदान गरिन् । यसैगरी रेवती धामीले अविजित २२, सम्झना खड्काले ११ र कप्तान ऋतु कनोजियाले १० रन बनाए ।

पाँचौं विकेटका लागि कविता र रेवतीले अविजित ८४ रनको साझेदारी गरे । कर्णालीका लागि अन्जु गुरुङले दुई तथा यमुना थारु र रश्मि खड्काले समान एक विकेट लिए ।