डोटी प्रहरीको नयाँ भवनहरू उद्घाटन
2023/12/26, 6:01
 
sdfsf

 डोटी प्रहरीको नयाँ भवनहरूको उद्घाटन गरिएको छ। जिल्ला प्रहरी कार्यालय डोटी परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, ब्यारेक, हिरासत कक्ष तथा मेश भवनहरूको मङ्गलवार प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले उद्घाटन गरेका हुन्।

उनले नवनिर्मित भवनहरूको निरीक्षण समेत गरेका छन्। कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउनेलाई प्रशंसा–पत्र प्रदान गरेका नेपाल प्रहरीले बताएको छ। कुँवरले समाजमा देखा पर्ने चुनौती र त्यसले समग्र समाजको शान्ति सुरक्षामा पार्ने असर न्यूनीकरण प्रहरी तयाररहेको बताए। उनले विपद्का घटनाबाट उत्पन्न हुन सक्ने प्रतिकूल परिस्थिति र परिणामको अध्ययन, विश्लेषण गरी उपयुक्त सुरक्षा योजना तयार गरी प्रहरी जनशक्ति हरदम तयारी रहेको समेत बताए।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय निकायहरूसँगको सहकार्यमा जन अपेक्षा अनुरूपको प्रहरी सेवा प्रदान गरी समाजमा अशान्ति र अराजकता फैलाउने तथा आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति वा समूह विरुद्ध सशक्त रूपमा प्रस्तुत भई उच्च मनोबलका साथ कार्य सम्पादन गर्न उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उनले निर्देशनसमेत दिएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहराले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए। डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल र दीपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी सिंह खड्कालेसमेत कार्यक्रममा मन्तव्य व्यक्त गरे।

नेपाल सरकारको नियमित बजेटबाट कुल १० करोड ८ लाख ६३ हजार ४ सय ६४ रुपैयाँ लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो।