गएको माघ महिनामा छोराछोरीको पढाई खर्च र घरायसी खर्चको जोहो गर्ने सपना बोकेर केदार स्यु गाउँपालिका वडा नम्बर ८ मल्लेसीका कटे जेठारा भारत गए । उनी अहिले पनि भारतमा नै छन् । गाँउ घरमा आम्दानीको श्रोत केही पनि नहुने र खेती किसानीबाट प्राप्त खान नपुग्ने र छोराछोरीका लागि एक जोर नयाँ लुगा कपडा खरीद गरेर ल्याउने सपना बोकेर उनी भारत रोजगारीका लागि पुगेका थिए । उनको यो सपना अधुरै रहन पुगेको छ ।
असार १९ गते बेलुकी परेको अविरल बर्षाका कारण उनको सबै जना परिवारले पहिरोमा परेर ज्यान गुमायो । उनकी ४१ बर्षिया श्रीमती राममती जेठारा, १६ र ७ बर्षिया छोरी शान्ति कुमारी जेठारा र अस्मीता जेठारा र ११ बर्षिया छोरा प्रयाग जेठाराको एउटै चिहान भयो । घर माथिबाट राती आएको पहिरोले सुतीरहेका बालबालिका सहित उनकी पत्नी राममतीले पनि ज्यान गुमाईन् । राती एक बजे तिर गाँउमा कोलाहल नै मच्चिएको थियो । रातिको समय ढुङ्गा खस्न थालेपछि स्थानीय जय जेठारा बाहिर निस्किए ।
हातमा टर्चलाईट बोकेर गाँउमा थिए । पहिरो जाने संकेत पाएपछि उनले गाँउका अधिकांशलाई जानकारी गराए । सबै भागे । तर राममतीले भने भाग्न नै पाईनन् । उनी एक्लै भएको भए सायद भाग्न सफल हुन्थिन् । गाँउलेहरु भन्छनः छोराछोरीलाई सहित विउझाएर संगै बाहिर निकाल्न खोज्दा सबैको एउटै चिहान भएको गाँउलेहरुको अनुमान छ । राममतीको पहिरोमा पुरिएको सब निकाल्दा उनको हातमा टर्चलाईट सहित भेटिएको थियो । उनकै घरमा सुत्न आएकी नवराज जेठारकी १५ बर्षिया छोरी सन्तु जेठाराको समेत मृत्यु भएको छ । नवराज जेठारा र कटे जेठारा भाई भाईका छोरा हुन् । कटेको परिवारको भने सबै पहिरोमा परी निधन भएको छ ।
८० बर्षिया दले जेठारा भने भाग्न नसकेर मृत्यु भएको हो । उनकै घरका अन्य सदस्यहरुले भने भागेर ज्यान बचाउन सफल भए । अहिले सम्म बेपत्ता भएका २० बर्षिया गिरीजा जेठरा भने घरभित्र नभएर घर बाहिरबाट पहिरोले बगाएर बेपत्ता पारेको हो । उनीसंगै रहेका राजेश जेठाराले भने हाम फालेर ज्यान बचाउन सफल भए । घर माथिबाट पानी आउन थालेपछि पानी बुझ्नका लागि भन्दै गिरीजा र म संगै थियौ । गाँउ जान थालेको पानीलाई यता उता ढाल्ने काम गरिरहेका थियौ । अचानक भुईचालो सरह हल्लिएर जमिन नै उठेपछि मैले नजीकैको एउटा बेरुको रुख तर्फ हामफालेर त्यही रुखमा झुन्डिएर ज्यान बचाए तर गिरीजालाई भने पहिरोले कहाँ पुर्यो कहाँ पुर्यो पत्तो नै भएन ।
गाँउमा नयाँ लागेको कसैले नचिताएको यस पहिरोले मल्लेसी गाँउका ७ जनाको एकै चिहान बनाएको छ । साथै २० घर पहिरोले क्षती गरेपछि २० परिवारका मान्छेहरुलाई कहाँ बस्ने के खाने भन्ने समेत ठेगान छैन । शनिबार विहानसम्म पहिरोमा पुरीएका लाससंगै जीवित रहेका मान्छेहरु आफ्नो घरको सुन चाँदी पाईन्छ की भनेर खोजीरहेका थिए । तर माथिबाट ठुलो पहिरो गएको हुँदा घर सहित अन्य सरसामान तथा पशुचौपाया माटो भित्र पुरिएका थिए ।
कस कसको भयो घर क्षति ?
पहिरोले चनी जेठारा, गम्भीरे जेठारा, सुरेश जेठारा, दमन जेठारा, जय जेठारा, कैले जेठारा, मान्या जेठारा, गजेन्द्र जेठारा, गणेश जेठारा, ओकिल जेठारा, अम्मर जेठारा, ईन्द्र जेठारा, लोक जेठारा, दिपक जेठारा, गोरे जेठारा, जय जेठारा, धनु जेठारा, सन्तोष जेठारा, कटे जेठारा घर बगाएको छ । जय जेठाराका भने २ वटा घर रहेका थिए । १९ परिवारका २० घर बगाएपछि उनीहरु अहिले नवादेव प्रावि मेल्लेसीमा आश्रय लिईवसेका केदार स्युँगाँउपालिका ८ का वडाध्यक्ष गणेश बोहराले बताए ।
पहिरोले उनीहरुका भंैसी २२ वटा, गाई गोरु २४ वटा र बाख्रा ६५ वटा पहिरोमा पुरिएका छन् । पिडित गम्भीरे जेठाराले भने जीवन भरी आर्जन गरेको सानो घर सम्पति पहिरोले बगाएर लियो । खाने खेत पहिरोमा पुरियो । अब कसरी खुट्टा टेक्ने भन्ने चिन्ता छ । उनी आफु र आफ्नो परिवारलाई बचाउन सकेकोमा भने उनी आफैलाई भाग्यले बाँचेको बताउँछन् ।
६ जनाको एउटै चिहान
आईतबार पहिरोमा पुरिएका ६ जनाको सनाखत भईसकेपछि गाँउलेहरुले सामुहिक रुपमा दाह संस्कार गरेका छन् । श्रीमती सहित २ छोरी र एक छोरी गुमाएका कटे जेठारा भारतको बेंग्लोरबाट टेलिफोन गर्दै आफु घर आउने तयारीमा रहेको स्थानीयले बताएका छन् । पहिरोमा घर पुरिएर विचल्ली भएका परिवारहरुलाई वरपरका छिमेकीहरुले खानाको बस्नको बन्दोबस्तमा लागिरहेका छन् । गाँउमा विपद आई लागेपछि मल्लेसी गाँउका वासिन्दाहरु अहिले घटनाका पिडितलाई सान्त्वना दिईरहेका छन् ।
नेपाल सरकारको राहत पुगेन
नेपाल सरकारले तत्कालै केदार स्युँगाँउपालिका मेल्लेखका पहिरो पिडित परिवारहरुलाई राहत दिन नेपाली सेनाको हेलीकप्टरबाट ल्याएपनि घटनास्थलमा बस्न नसकेर सदरमुकाम चैनपुरमा झारेको थियो । पहिरो पिडितहरुका लागि भनेर नेपाली सेनाको हेलिकप्टरबाट आठ क्विन्टल चामल, ३७ वटा त्रिपाल र ४० वटा कम्मल घटना ल्याएको भएपनि अहिलेसम्म घटना स्थलमा पुर्याउन सकिएको छैन ।
गाँउ भएर बग्ने गण्डकी गाडले गाँउ जाने सडक र बाटो भत्काई दिएपछि मल्लेसी गाँउमा जान समस्या छ । वडाध्यक्ष गणेश बोहराका अनुसार खानाका लागि आफुहरुले व्यवस्था गरेको र पिडितहरुका लागि भाँडाकुडा, लत्ता कपडाको समस्या भएको बताए । १९ परिवारका झण्डै ६० जना मानिसहरु अहिले विद्यालयमा आश्रय लिएर वसिरहेका छन् । पहिरो गएपछि बालबालिका, महिलाहरु बढी समस्यामा परेका छन् ।