अछाम कारागारका कैदी बाजुरा घुम्दै
2024/01/04, 3:08
 
11

अछाम कारागारमा रहेका कैदी बाजुरासम्म घुम्दै आएका खुलेको छ। जिल्ला कारागारका कैदीलाई जेलर जनक शाहीले बाजुरा जिल्लाको भ्रमण गरेका हुन्। अछाम कारागारमा लागुऔषध मुद्दामा कैद सजाय काटिरहेका कञ्चनपुरका नरेश अवस्थीले बाजुराको भ्रमण गरेका खुलेको हो।

अवस्थीलाई जिल्ला कारागार अछामका जेलरले मङ्सिर ७ गते बाजुरा जिल्लाको भ्रमण गरेका हुन्। अवस्थीको बाजुरा भ्रमणको विषय प्रशासनलाई जानकारी भएपछि सुरक्षा प्रमुखसहितको टोली परिवर्तन भएको छ। तर, जेलर शाहीलाई कारबाही गरिएको छैन। जिल्ला प्रशासन कार्यालय, अछामका सूचना अधिकारी सन्तोष विकका अनुसार जेलर शाहीलाई सचेत मात्र गराएको छ। कारागारका तत्कालीन सुरक्षाकर्मीका इन्चार्ज रविन्द्र कलौनीसहितको टोली भने फेरिएको छ। गत मङ्सिर २५ गते नै टोलि फेरिएको हो।

जिल्ला प्रशासन कार्यालय, अछामले जेलर शाहीलाई उन्मुक्ती दिएपछि उनको दम्भ झन बढेको कैदीहरूको गुनासो छ। उनले लागु औषध मुद्दामा कैद काट्दै आएका अवस्थीसँगको साँठगाँठमा अन्य कैदीहरूलाई दुःख दिने कामसमेत गर्दै आएका छन्। उनले कैदीबन्दीहरूलाई आफ्नो विरुद्धमा नबोल्न लिखित कागजसमेत गराएका छन्। अन्य कैदीहरूको सिधा तथा लुगाको भरपाईसमेत अवस्थीले गर्दै आएका छन्।