विकासे योजना निरीक्षण गर्न मुख्यमन्त्री जिल्ला भ्रमणमा
2024/01/04, 3:24
 
aa

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह प्रदेश विकासे योजनाको निरीक्षण गर्न जिल्ला भ्रमणमा निस्किएका छन। प्रदेशका नौ वटै जिल्लामा पुगेर स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीसँग भेटघाट गर्ने क्रममा बिहीबार बैतडी पुगेका छन ।

बिहीबार गोठालापानीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले प्रदेशको विकास निर्माणको अवस्था बुझ्न पहिलो चरणमा दार्चुला, बैतडी र डडेलधुराको भ्रमणमा निस्किएको बताए । प्रदेश सरकार नागरिकसँग भेटघाट गर्न जिल्लामै पुगेको छ । पहाडी जिल्लाको भ्रमण सकेर अन्तिममा कैलाली र कञ्चनपुरको भ्रमण हुने उनले बताए।

दार्चुला भ्रमण सकेर बिहीबार गोठालापानीको पत्रकार सम्मेलनमा प्रदेश सरकारले एक वर्षको अवधिमा स्थानीय तहलाई एक अर्बभन्दा बढीको वित्तीय समानीकरणको बजेट पठाएको बताए। “अघिल्लो प्रदेश सरकारले पाँच वर्षमा एक अर्ब रुपियाँ दिएको थियो, हामीले एक वर्षमै एक अर्ब रुपियाँ स्थानीय तहमा पठाएका छौँ,” मुख्यमन्त्री शाहले भने, “प्रदेशको बजेट बाँड्दा वडा, स्थानीय तह र प्रदेश निर्वाचन क्षेत्र हुँदै जिल्ला समन्वय समितिबाट योजना माग गरेका थियौँ । ती योजना समयमै सम्पन्न भए(नभएको हामी हेर्दैछौं ।” 

मुख्यमन्त्री शाहले प्रदेश गौरवका आयोजना भन्ने तर समयमै योजना सम्पन्न गर्न नसक्ने प्रवृत्तिको अन्त्य गर्न त्यस्ता योजना राखिराख्ने कि हटाउने भन्ने विषयमा प्रदेश सरकारले पूर्नविचार समेत गर्ने बताए। सञ्चारकर्मीले प्रदेश सरकारबाट आयश्वयकताका आधारमाभन्दा पनि भनसुनका भरमा योजना आउने गरेको नागरिकको गुनासो बारे जिज्ञासा राख्दा मुख्यमन्त्री शाहले त्यस्ता योजना छन् भने प्रमाण लिएर आए तुरुन्तै हटाइने बताए। 

“प्रदेश सरकारले कहीँ कसैलाई पनि काखा–पाखा गर्दैन,” मुख्यमन्त्री शाहले भने , “सबै जिल्लाका स्थानीय तह र वडामा समान ढङ्गले बजेट पठाउने गरेका छौँ । दार्चुला भ्रमण गर्दा त्यहाँ कतिपय स्थानीय तहसम्म अहिलेसम्म बाटो पुग्न सकेको छैन । यस्तो अवस्थामा बैतडी भन्दा दार्चुला पहिलो प्राथमिकतामा पर्छ । त्यहाँ भनसुनमा योजना गएको भन्न मिल्दैन ।”

सञ्चारकर्मीले यहाँका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेको मुख्यमन्त्रको ध्यानाकर्षण गराएका छन् । स्थानीय तहलाई औषधि किन्न वार्षिक २० लाख बजेट आउने तर जिल्लाभरि सेवा सेवा दिने विशेषज्ञ चिकित्सक सहितको अस्पताललाई औषधि किन्न वार्षिक १० लाख रुपियाँ बजेट आउँदा स्वास्थ्य क्षेत्रमा श्रोतको न्यायोचित वितरण नभएको सञ्चारकर्मीले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । 

सञ्चारकर्मीको जिज्ञासापछि मुख्यमन्त्री शाहले प्रदेश सरकार मातहत रहेका जिल्ला अस्पतालको स्तरोन्नति गर्ने, दक्ष जनशक्ति व्यवस्था पर्ने काममा सरकार लागि परेको बताए। शिक्षा र स्वास्थ्यसँगै पश्चिम सेती परियोजना, पाटन–पञ्चेश्वर सडक लगायतका योजना प्रदेश सरकारको प्राथमिकतामा रहेको उनले बताए  ।