डस्टबिनको रूपमा डोकाको प्रयोग हुँदै डोटीमा
2024/01/10, 11:16
 
aa

डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ सिमचौरमा डस्टबिनका रूपमा डोकोको प्रयोग हुँदै आएको छ । 

गत वर्षबाट यस क्षेत्रमा बाँस तथा निगालोबाट बनाइएका डोकालाई फोहोर मैला व्यवस्थापनका लागि डस्टबिनका रूपमा प्रयोगमा ल्याइएको थियो । यस वर्ष पनि डस्टबिनका रूपमा डोकोको प्रयोगले निरन्तरता पाएको छ । 

पछिल्लो समय सहर बजारमा, गाउँ घरमा अत्यधिक रूपमा प्रयोगमा आउने प्लास्टिकको डस्टबिनको साटो डोको प्रयोग गर्दा वातावरण स्वच्छ हुने वडा  नम्बर १ का अध्यक्ष खेम बहादुर घर्तिमगरले बताए । स्थानीय स्तरमा पाइने बाँस तथा निगालोबाट बनाइएका डोकालाई प्रयोग गर्दा बजार क्षेत्रको सरसफाइमा सहयोग पुग्नुका साथै स्थानीय स्रोत साधनले बजार पाउने र रोजगारी समेत बढ्ने उनको भनाई छ ।

यूएमएन डोटी र ग्रामीण सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा सञ्चालित क्लाइमेट परियोजना अन्तर्गत वडासँगको सहकार्यमा डोका हस्तान्तरण गरिएको ग्रामीण सामुदायिक विकास केन्द्र डोटीले जनाएको छ । डस्टबिनका रूपमा डोकोको प्रयोग गर्न मङ्गलवार सिमचौर बजार व्यवस्थापन समितिलाई डस्टबिन स्वरूप ३० ओटा डोका हस्तान्तरण गरिएको छ ।