कञ्चनपुरमा हिरासतमै थुनुवामाथि निर्घात कुटपिट
2024/01/10, 12:57
 
aa

कञ्चनपुरमा प्रहरी हिरासतमै थुनुवामाथि निर्घात कुटपिट भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको थुनुवा कक्षभित्रै थुनुवामाथि निर्घात कुटपिट भएको हो ।

हिरासतमा थुनुवाले नै थुनुवामाथि कुटपिट गरेको घटना बाहिरिएको हो । यही पुस २१ गते लागुऔषध मुद्दामा पक्राउ परेका भीनपा ३ का सञ्जय थापामाथि अर्का थुनुवा हरिश भट्टले कुटपिट गरी घाइते बनाएको उनका बुवा चन्द्रबहादुर थापाले बताए । उनका अनुसार सञ्जयको छाती र खुट्टामा चोट लागेको छ । छोरो हिरासतमै कुटिँदा पनि प्रहरी भने हेरेर बसेको उनले गुनासो गरे ।

‘हल्दुखालको हरिश भट्टले एक्कासी आएर पछाडिबाट टाउकोमा र मुक्काले मुखमा हान्दा उसको दाँत हल्लिएको छ, छातिमा हान्या छ, उसको नाङ्गो खुट्टा बनाएर बुढी औँला आफ्नो खुट्टाले च्यापेर घाउ बनाएको छ,’ उनका बुबाले भने । मुद्दा शाखाकी प्रहरी निरीक्षक इन्सपेक्टर बिना शाहीले कुटपिट हुँदा थाहा नै नपाएको र पछि मात्रै थाहा भएको बताएको सञ्जयका बुवा बताउँछन् । ‘बाहिर हतियार बोकेका प्रहरी भएर पनि भित्र त्यत्रो झगडा हल्लाखल्ला भएको कसरी थाहा भएन होला ? उनले प्रश्न गरे ।

कुटपिटपछि आफूले हरिशविरुद्ध मुद्दा दायर गर्न खोज्दा इन्सपेक्टर शाहीले मुद्दा दर्ता नगर्न भनेको उनी सुनाउँछन् । ‘ऊ माथि एक मुद्दा छँदैछ, दोस्रो मुद्दा तपाईँले हाल्नु किन पर्यो र, हामी छँदैछौँ हामी त्यलाई ठिक गर्छौँ भन्यो,’ उनले भने । मुद्दा चलानीमा पनि हामी कारबाही गरिहाल्छौँ भन्दै मुद्दा दर्ता गर्न नमानेको उनी बताउँछन् ।

उक्त घटना मात्रै नभई पुस २३ गते अर्का थुनुवा दिपेन्द्र पाल पनि कुटिएका थिए । वैवाहिक बलात्कार मुद्दामा तीन सातादेखि प्रहरी हिरासतमा राखिएका पालको महाकाली प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो । उनको ओठमा पाँच टाँकासम्म लगाइएको बताइन्छ । अस्पतालमा उपचारपछि उनलाई फेरि हिरासतमा राखिएको छ । हिरासतभित्र कुटपिटका घटना बारम्बार भइरहँदा पनि प्रहरी भने मूकदर्शक भएर बसिरहने गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापा भने कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा उनीहरुबीचमा विवादको स्थिति सिर्जना हुने गरेको बताउँछन् । ५० जना क्षमताको कारागारमा ९० को हाराहारीमा कैदी भएकाले झगडाको स्थिति आउने गरेको उनी बताउँछन् । घटना हुने बित्तिकै आफूहरु पुग्न नसक्दा स्थिति असामान्य बन्न पुगेको उनी बताउँछन् । घटना हुन नदिन आफूहरुले हरसम्भव प्रयास गरेको भएपनि घटना घट्दाको अवस्थामा तुरुन्त पुग्न नसक्नु आफूहरुको गल्ती रहेको उनी स्विकार्छन् ।