भारतीय पक्षको दादागिरीः हतियार सहितको फौजद्धारा हुलाकी राजमार्ग निर्माणमा अवरोध 
2020/07/06, 4:02
 
ssb

भारतीय पक्षले युद्धमा तैनाथ झैं गरी हतियार फौज फक्ड जत्था ल्याएर सुदूरपश्चिमको कञ्चनपुरमा बनिरहेको हुलाकी राजमार्ग निर्माणमा अवरोध गरेको छ । भारतीय सुरक्षाकर्मी सहित प्रशासनिक अधिकारीको समुह बेलौरीस्थित निर्माण स्थलमै आएर सडक अवरोध गरेको हो । कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा भारतीय पक्षले अनावश्यक विवाद झिकेर हुलाकी सडक कालोपत्रेको काम अवरोध गरेको स्थानीयले बताएका छन् ।

sima naka

भारतीय पक्षले यसअघि पनि गत असारमा सडक निर्माण कम्पनीलाई विवादित भूमी भन्दै काम नगर्न दवाव दिएको थियो । भारतीय सुरक्षा बल (एसएसबी) सहित भारतीय प्रशासनिक अधिकारी आएर निर्माण भईरहेको काम रोकिएका हुन् । स्थानीय शिक्षक विवेक लम्सालले भारतीय रबैया र दादागिरी शैलीले नेपाली भूमिमै आएर सडक निर्माण कार्य रोकेको बताए । ‘ठुलै फौज जत्था लिएर आएका थिए, ‘उनले भने, ‘सडकको काम रोकेर गए ।’ निर्माण कम्पनीसँग काम नगर्न भनेपछि काम रोकिएको छ । भारतीय पक्षले अघि सारेको कदम निन्दनीय, नेपालको राष्ट्रियतामाथि नै धावा खोल्ने खालको भएको उनको भनाई छ ।

भारतीय एसएसबीले सडक निर्माण कम्पनी बाबाहंस सिद्धिकीका संचालक चक्र शाहलाई सडकखण्ड निर्माण नगर्न दवाव दिएपछि काम रोकिएको हो । भारतीय पक्षले रिफ्रेन्स पिलर ३८ लाई सीमा पिलर मानेर अनावश्यक विवाद झिक्दै आएको छ । गत बर्ष ग्राईभिलिङ्ग गर्दा भारतीय पक्षले अवरोध गरेको र फेरि कालोपत्रे तयारी गर्दा रोकेको हुलाकी सडक निर्माण कम्पनीका संचालक चक्र शाहले बताए । एसएसबीले काम नगर्न दवाव दिएपछि काम रोकिएको उनले बताए । ‘हामी हाम्रो स्प्रीड अनुसार काम गरिरहेका थियौँ, ‘उनले भने, ‘भारतीय एसएसबीले काम नगर्न भन्यो, त्यही भएर अहिले त्यो ठाँउमा काम गरेका छैन ।’

sima naka

नेपाली अधिकारीले भारतीय पक्षबाट अवरोध गरिएको हुलाकी राजमार्ग बारे भारतीय पक्षसँग वार्ता गरिने बताएका छन् । बेलौरी नगरका प्रमुख पोतीलाल चौधरीले यस बारेमा नेपाली सुरक्षा अधिकारी, प्रशासन सहितको टोलीले भारतीय पक्षसंग संयुक्त वार्ता गरेर निकास निकाल्ने बताए ।