कञ्चनपुरको गड्डाचौकी नाकामा पनि तीन जनामा देखियो कोरोना
2024/01/13, 3:58
 
dd

कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतबाट घर फर्किने ३ जनामा कोरोना संक्रमण देखिएको छ। शनिबार एन्टिजेन परीक्षण गरिएका ७९ मध्ये ३ जनामा संक्रमण पुष्टि भएको हो।

गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज प्रेमसिंह भण्डारीका अनुसार गड्डाचौकी नाकामा लामो समयपछि पहिलो पटक संक्रमण देखिएको हो। उनका अनुसार भारतको हरिद्वार, दिल्ली र पञ्जावबाट आएकाहरूमा संक्रमण देखिएको हो। संक्रमण देखिनेमा २ जना कञ्चनपुरको बेलडाँडी गाउँपालिका र १ जना भीमदत्त नगरपालिकाका हुन्।

उनीहरूलाई होम आइसोलेसनमा बस्ने गरी घर पठाइएको छ। शनिबारदेखि गड्डाचौकी नाकामा परीक्षण बढाइएको हो। त्यस्तै कैलालीको गौरीफन्टा नाकामा पुसयता १८ जनामा संक्रमण देखिएको छ। हेल्थ डेस्कका इन्चार्ज गणेश साउदका अनुसार शुक्रबार १ जनामा संक्रमण देखिएको थियो।