बाजुरामा मनाइने​ भुवो पर्व काठमाडौँमा पनि मनाइयो
2024/01/13, 6:06
 
aa

बाजुरामा मनाइने कौरब र पाण्डवको कथामा आधारित सांस्कृतिक पर्व भुवो काठमाडौँमा पनि मनाइएको छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा दमाहा बाजाका साथ युवाले हातमा ढाल तरबार समातेर भुवो पर्व मनाएका हुन् ।

खेतिपातीको काम सकेर यहाँका स्थानीय बासिन्दा फुर्सदिला भएको समयमा खेलिने यो पर्व वीरताको गातामा आधारित छ । यो पर्वलाई विशेष गरी बाजुरा, बझाङ, अछाम र डोटी जिल्लामा विशेष पर्वका रूपमा मनाइने प्रचलन पुस्तौँदेखि अहिलेसम्म रहँदै आएको छ । यस वर्ष भने काठमाडौँमा बसोबास गर्दै आएकाहरू भृकुटीमण्डपमा भेला भएर ढाल, तरबार तथा लाठी खेलाएर नाचेका थिए ।

त्रेतायुगमा पाण्डव कौरवबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले खुसियाली मनाइएको दिनमा यो पर्व मनाइने किम्बदन्ती रहेको बाजुराका अफिलाल जोशीले बताए ।

पुस महिनाको चतुर्दशी अर्थात् औँसीको अघिल्लो रातबाट काठको मुढो बालेर सुरु गरिने यो भुवो पर्वलाई अहिलेका युवापुस्ताले पनि दौरा सुरुवालको पोसाकमा ढाल, तरबार तथा लाठी खेलाएर नाच्ने प्रचलन छ ।  बाजुरा जिल्लाको हिमाली स्वामिकार्तिक, जगनाथ , बुढीनन्दा , बडिमालिका , गौमुल , बुढीगङ्गा ,त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकालगायतका विभिन्न ठाउँमा यो पर्वलाई विशेष रूपमा मनाइने प्रचलन छ । यही पर्वलाई अवसरको रूपमा पारेर कामको सिलसिला विदेश गएका आफन्तजनसमेत यो पर्व मनाउन घरमा आएर भुवो भस्तो खेलेर रमाउने गरेको गरेका छन् ।