छाङरूमा भाडाको घरमा सशस्त्रको सीमा सुरक्षा टोली
2020/05/13, 9:08
 
heli

भारतले सीमा अतिक्रमण जारी राखेको बेला दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी इन्सपेक्टरको नेतृत्वमा २५ जनाको टोली आज खटाईएको छ । सीतापुरमा रहेको सई नेतृत्वको नेपाल प्रहरीको टोलीलाई पनि छाङरूमा लगिएको छ ।


छाङरू भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकभन्दा करिब १०–१२ किलोमिटर वरै पर्दछ । बन्दोबस्ती, खाद्यान्न र हातहतियार सहित उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरले छाङरूमा पुराएको छ । त्यसका लागि आज बिहान गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापा सहितको टोली नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंबाट दार्चुला पुगेको थियो । सो हेलिकोप्टर दार्चुलाबाट इन्सपेक्टर सहितको टोलीलाई लिएर आजै छाङरू पुगेको थियो ।


छाङरूसम्म पुग्ने बाटो नभएकाले सेनाको हेलिकोप्टरबाट सशस्त्रको टोलीलाई लागिरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । प्रजिअ पौडेलले सशस्त्रको टोली राख्न छाङरूमा एउटा घर भाडामा लिइएको जानकारी दिए । उनले भने, ‘छाङरूमा बीओपी राख्न जग्गा लगायतको निर्णय पहिले नै क्याबिनेटबाट भएको थियो तर लकडाउनका कारण घर बनाउन सकिएन । घर नबनुन्जेलसम्मका लागि एउटा घर भाडामा लिएर काम चलाइएको छ ।’


सई नेतृत्वको १० सदस्यीय प्रहरी टोलीलाई पनि छाङरूमा पठाईएको छ । हाल सीतापुरमा बस्दै आएको प्रहरी टोलीलाई छाङरूमा स्थानान्तरण गर्न लागिएको हो । जाडोको बेला हिउँ परेर बस्न नसकिने भएकाले नेपाल प्रहरीको टोली छाङरूभन्दा तल सीतापुर भन्ने स्थानमा बस्दै आएको छ । अहिले हिउँ पग्लिएर बस्न केही सहज भएकाले सो टोलीलाई फेरि छाङरूमा स्थानान्तरण गर्न लागिएको प्रजिअ पौडेलले जानकारी दिए ।

लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा आक्रोश बढेको छ ।