सुदूरपश्चिममा निर्धारण गरेको भन्दा कम धान खरिद
2024/01/21, 1:59
 
dd

सुदूरपश्चिम प्रदेशमा यस वर्ष लक्ष्य अनुसार धान खरिद हुन सकेन । प्रदेशभरिबाट ७५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले न्यून मात्रामा धान खरिद गरेको हो ।

यस वर्ष कैलालीमा ६० हजार क्विन्टल र कञ्चनपुरमा १५ हजार क्विन्टल गरी सुदूरपश्चिममा ७५ हजार क्विन्टल धान खरिद कोटा थियो । तर कैलालीबाट १८ हजार ७८७ र कञ्चनपुरबाट तीन हजार गरी जम्मा २१ हजार ७८७ क्विन्टलमात्रै धान खरिद भएको छ। सरकारले निर्धारण गरेकोभन्दा धानको बजार मूल्य बढी भएपछि खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानबाट धान पाउन नसकेको हो ।

व्यापारीले बढी मूल्यमा खरिद गर्दा कम्पनीले खोलेको धान खरिद केन्द्रमा थोरैमात्रै किसानले बिक्रीका लागि धान ल्याएको कम्पनीका प्रमुख इन्जिला बस्नेतले बताए । सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा बढीमा बजारमा धान खरिदबिक्री भएकाले किसानले खाद्यको खरिद केन्द्रमा धान नल्याएको उनको भनाइ छ। धान नआएपछि पुस मसान्तदेखि खरिद केन्द्रबाट खरिद कार्य बन्द गरिएको छ । गत वर्ष सुदूरपश्चिममा ४० हजार क्विन्टल धान खरिदको कोटा रहेकोमा ३० हजार क्विन्टल धान खरिद गरिएको थियो ।