आफन्तसँग सापट लिएर छविलाले थालेका थिए कुखुरा व्यापार, अहिले ठड्याए पक्की घर
2024/02/14, 11:47
 
ss

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ९, सिसैयाका ५४ वर्षीय छविलाल सार्की साइकल चढेर बिहानीको झिसमिसेमै गाउँबस्तीमा स्थानीय जातका कुखुरा खोज्न निस्कन्छन् । उनले झण्डै चार दशकदेखि स्थानीय जातका कुखराको व्यापार गर्दै आएका छन् ।

कुखुरा बेचेर आउने रकमले छविलालको परिवारको घरखर्च चल्ने गरेको छ । दैनिक १० देखि २० किलोसम्म कुखुरा बेच्ने गरेको उनी बताउँछन् । 'साइकल चढेर दैनिक गाउँघरमा पुग्छु', उनले भने, 'गाउँबाट खरिद गरिएका कुखुरा महेन्द्रनगर, अत्तरियालगायतका बजारमा पुर्‍याएर बेच्ने गर्छु, यो कार्य ३६ वर्षअघिदेखि गर्दै आएको छु ।'

'घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालय पढ्न पाइनँ', छविलाले भने, 'आमाबुवाले विद्यालय पठाएनन्, दलित समुदायको भएर होला पढ्नुपर्छ भन्ने त्यसबेला चेतना नै थिएन, जीवन चलाउनका लागि केही त गर्नैपर्‍यो, त्यही भएर कुखुरा खोज्ने बेच्ने कार्यमा लागेँ ।'

बुबाले घरमै पालिएको कुखुरा बेच्न बजार पठाएपछि उनमा कुखुराको व्यापार गर्ने सोच पलायो । 'त्यसबेला कुखुरा प्रतिकिलो ३० रुपैयाँमा बिक्री हुन्थ्यो', छविलाल भन्छन्, 'कुखुरा बेचेर नगद रकम हातमा पर्‍यो, खरिद गर्ने व्यक्तिले अरु कुखुरा भए ल्याउन भने, मनमनै सोचे यसै कार्यलाई व्यापार बनाएर जीविका चलाउने आधार बनाए अघि बढ्ने निधो गरेँ ।'

त्यसपछि कुखुरा खोज्ने, बिक्री गर्ने कार्य गर्न थालेको उनी बताउँछन् । कुखुरा खरिद गर्नका लागि पैसा नभएपछि आफन्तसँग केही रकम सापटी मागेर कुखुरा खरिद गर्न थालेको उनी सम्झन्छन् । महेन्द्रनगर बजार पुर्‍याएर बेच्दा सोचेजस्तै आम्दानी भएपछि यसलाई अहिले पनि नछाडेको उनले बताए ।

गाउँघरबाट छ सय रुपैयाँ प्रतिकिलोका दरले छविलालले कुखुरा खरिद गरेर बजारमा पुर्‍याएर ६५० मा बिक्री गर्छन् । यसबाट उनको मासिक आम्दानी २० देखि २५ हजारसम्म हुने गरेको छ । कुखुरा बेचेर आएको आम्दानीबाट छविलालले गाउँमा तीनकोठे पक्की घर ठड्याएका छन् । उनले चार छोरीको पढाइसँगै विवाह खर्च कुखुरा बेचेकै पैसाबाट व्यहोरेका छन् । उनका एक छोरी विद्यालयमा पढ्दैछिन् भने छोरा यस वर्ष कमाउनका लागि भारततर्फ लागेका छन् ।

'पहिले स्थानीय जातका कुखुरा विशेषगरी थारू समुदायका घरघरमा निकै बढी हुने हुँदा खोज्न बढी परिश्रम गर्नु पर्दैनथ्यो', छविलाल भन्छन्, 'हाल थोरै परिवारका घरमा मात्रै स्थानीय जातका कुखुरा पाइने गरेका छन्, कुखुरा खोज्नका लागि टाढाटाढाका गाउँसम्म पुग्नुपर्ने हुन्छ ।' कुखुरा पाइएका दिन आम्दानी हुने भए पनि कुखुरा नपाइएका दिन रित्तो हात घर फर्कनुपर्ने अवस्था पनि हुने गरेको उनी सुनाउँछन् ।

'यो व्यापारमा लागेपछि अरुसँग हात फैलाएर माग्न गएको छैन', छविलाल भन्छन्, 'अरुलाई आपतविपत पर्दा सहयोग गरेको छु, आफू र परिवार खर्च सहजरूपमा चलाउँदै आएको छु, यसमै खुसी छु ।'