डोटीको एक वडा कार्यालय, जो कहिलै बन्द हुँदैन
2024/02/16, 2:17
 
ss

डोटीको आदर्श गाउँपालिकाको एक वडाले २४ सैं घण्टा सेवा दिइरहेको पाइएको छ। अन्य वडा कार्यालयमा कर्मचारी समयमा नआएर सेवाग्राहीलाई सास्ती पाइरहेको समाचार सुनिरहदा डोटीको आदर्श गाउँ पालिका वडा नम्बर ६ ले भने नागरिकलाई चौबिसै घण्टा सेवा दिने गरेको पाइएको हो ।

आदर्श गाउँपालिकाकै विकट मानिने ६ नम्बर वडाले त्यहाँका नागरिकलाई आवश्यक परेको समयमा जुनसुकै समयमा कार्यालयले सेवा दिने गरेको वडाका सचिव श्याम सिंह धामीले बताए । सचिव धामीका अनुसार दुरीको हिसाबले ६ न।वडा निकै दुर्गम भएको र पालिका तथा जिल्ला प्रशासन लगाएत अन्य कार्यालय जान बिहानै जानूपर्ने भएकोले पनि सेवाग्राही कार्यालयमा बिहानै पुग्ने गरेको बताए।

वडा कार्यालयले कार्यालयमै आवासको व्यवस्था गरिदिएकोले जतिबेला सेवाग्राही आएपनि सेवा दिन सहज उनले भएको बताए। दोस्रो कार्यकालको जिम्मेवारी सम्हालिरहेका वडा अध्यक्ष लालबहादुर खडायतले आफ्नो वडाले ४ वर्षदेखि सेवाग्राहीलाई चौबिसै घण्टा सेवा दिइरहेको बताए। अध्यक्ष खडायतका अनुसार आदर्श गाउँपालिकाकै भौगोलिक हिसाबले विकट वडा भएको र सेवाग्राहीले थप सेवा लिन धेरै टाढा जानूपर्ने भएकोले बिहानैदेखि सेवा दिन थालिएको बताए।


साँझको ६ बजे पनि सेवा पाइरहेका सेवाग्राही झिंगडा बस्ने ललिता अधिकारीले वडा कार्यालयले जुनसुकै समयमा आए पनि आफुहरुलाइ सेवा दिने गरेको बताए।  अधिकारीले सरकारी कार्यालयको बन्द हुने र खुल्ला हुने समय थाहा भएतापनि वडाले आफुहरुलाई जहिले आए पनि काम गरिदिने भएकाले फुर्सद मिलाएर साँझपख सेवा लिन आएको बताए ।

अन्य स्थानीय नागरिकले पनि वडाले सबै सेवाग्राहीलाई परेको बेला जुनसुकै समयमा सेवा दिने गरेको बताएका छन्। स्थानीय पदम खडायतले वडाले धेरै पहिलेदेखि नै नागरिकलाई चौबिसै घण्टा सेवा दिने गरेको बताएका छन्। वडाले यस्तो सेवा दिदा यहाँका नागरिकलाई बिहान गाउँपालिका तथा जिल्ला प्रशासन गएर साँझ घर फर्किन सहज भएको बताइएको छ।