टीकापुरमा हुर्किंदै चैते धानको बिउ
2024/02/18, 4:12
 
ss

भजनी नगरपालिका–७, हिम्मतपुरका किसान चैते धानको बिउ हुर्काइरहेका छन् । समयमै रोपेर मनसुन सुरु हुनुभन्दाअगाडि नै बाली उठाउन माघमै बिउ उमार्नु पर्छ । यतिबेला बिउ अङ्कुराउन आवश्यक पर्नेभन्दा तापक्रम कम हुने भएकाले धानको बिउ उमार्नु त कठिन छ नै बिउ जोगाउनु पनि कठिन भएको छ । मनसुन सुरु हुनुभन्दा पहिले नै धान काटिसक्नुपर्ने भएकाले फागुनको अन्तिम साता वा चैतको पहिलो हप्तामै धान रोपिसक्नु पर्छ यसका लागि माघमै बिउ उमार्नु पर्छ । माघमा शीतलहर चल्ने र तापक्रम घट्ने भएकाले बिउ उमार्न मेहनत गर्नुपर्ने किसान बताउँछन् । 

हिम्मतपुरका किसान जयराम डगौराका अनुसार पानीले भिजाएको बिउ माघ १९ गते गोबर मलको थुप्रोमा गाडेर राखिएको हो, बिउ अङ्कुराउन चाहिने तापक्रम प्राप्त गर्न मलको थुप्रोमा बिउ गाड्नु पर्छ । मलको थुप्रोमा गाडेको तीन दिनपछि अङ्कुराएको बिउ ब्याडमा छर्नुपर्ने हुन्छ । ब्याडमा छरेको बिउ टुसाउँदै छ । बिउ कुरेर बसेकी अनिषा चौधरी दाना खाने चराचुरुङ्गी धानको बिउ खान आउने गरेकाले कुरेर बसेको बताउनुहुन्छ ।  बिउ जोगाउन सजिलो होस् भनेर चार वटा परिवारको बिउ एकै ठाउँमा राखिएको र हरेक दिन दुई जनाले कुर्ने पालो मिलाएको अर्का किसान शिवराम डगौराले बताए । 

फागुनभित्रै रोप्न सके आउँदो जेठको २५ गते धान पाकेर उठाउन सकिने भनाइ किसानको छ । भजनी नगरपालिकाको छ वटा वडामा करिब सात सय हेक्टरमा चैते धान खेती हुने गरेको छ । यहाँको वडा नम्बर ३ र ८ का हुलाकी सडक आसपासमा वर्षाले डुबाउने भएकाले चैते धान नै फलाएर खाद्यान्न आपूर्ति भइरहेको नगरपालिका कृषि शाखाका प्रमुख तथा नायब प्राविधिक सहायक कमलप्रसाद चौधरीले बताए। गोरखापत्रबाट