अछाम जिप दुर्घटना : २ जना धनगढी रिफर
2024/02/23, 12:14
 
ary8fyyr

अछाममा बुधवार भएको जिप दुर्घटनाका घाइते दुई जनालाई धनगढी रिफर गरिएको छ । प्रहरीका अनुसार डोटीको पूर्वीचौकी गाउँपालिका ४ की अन्दाजी २३ वर्षीया अनिसा खड्का र चौरपाटी गाउँपालिका ५ का ८ वर्षीय स्माइल रावललाई धनगढी रिफर गरिएको हो ।

चौरपाटी ५ कै ११ वर्षीय आयुस खड्काको वयलपाटा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए । उनका अनुसार दुर्घटनामा घाइते ११ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

बुधवार बिहान चौरपाटी ५ लुंग्रास्थित भित्री सडकखण्डमा से १ झ ४२९ नम्बरको जिप दुर्घटना भएको थियो । दुर्घटनामा डोटीको पूर्वीचौकी गाउँपालिका ४ का राजेन्द्र खड्काका अन्दाजी १८ महिनाका छोरा इशान खड्काको न्याय हेल्थ अस्पतालमा मृत्यु भएको थियो । अन्य १४ जना घाइते भएका थिए । दुर्घटनामा ज्यान गुमाउने बालक थिए भने अन्य ७ जना घाइते पनि बालबालिका नै थिए ।

जिप एक्कासी अनियन्त्रित भई १५० मिटर तल खसेको प्रहरीले बताएको थियो । चालक चौरपाटी ५ कै ५१ वर्षीय तेजबहादुर रावललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।