कञ्चनपुरका राना मृत्यु प्रकरणः प्रहरी हवल्दार सहित दुई जना कारागार चलान
2024/03/01, 11:41
 
ss

कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का २८ वर्षीय राजकुमार रानाको मृत्यु घटनामा पाँच महिनापछि पक्राउ परेका दुई जनालाई कारागार चलान गरिएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी प्रकाश डाँगीले रानाको हत्या आरोपमा पक्राउ परेका  कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारी पुर्पक्षका लागि कारागार चलान भएको जानकारी दिए ।

बिहीबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि उनीहरूलाई कारागार चलान गर्न आदेश दिइएको थियो ।  कारागार चलान हुने चौधरी नेपाल प्रहरीका सहायक हवल्दार हुन् । घटना भएको पाँच महिनापछि मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले दुवैलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

राना गत २८ असोजमा कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जंगलमा मृत भेटिएका थिए । रानाको हत्या गरेको भन्दै उनकी श्रीमती सुशीला रानाले दुवै जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।  धनगढीमा काम गर्छु भन्दै गत वर्षको फागुनमा घरबाट निस्किएका राना त्यसपछि कहिलेकाहीँ मात्र घर आएका थिए ।

१८ असोजमा श्रीमती सुशीला रानालाई फोन गरेर अत्तरियामा श्रृंगारका सामान बिक्रीको काम गरिरहेको बताएका उनी दशैं मनाउन घर फर्किने कुरा थियो । तर उनी घर त आएनन् नै १० दिनपछि २८ असोजमा कृष्णपुर नगरपालिकामा पर्ने बालुवाफाँटाको जंगलमा मृत भेटिएको खबर परिवारले पाएको थियो ।

२० असोजदेखि परिवारसँग सम्पर्क नभएपछि राजकुमारको परिवारले नातागोतासँग उनीबारे सोधीखोजी गरेका थिए । कृष्णपुर नगरपालिका–३ को देखतभूली बस्ने राजकुमारकी दिदी रजनी रानाले दाजु नाता पर्ने राजेश रानाबाट राजकुमार प्रहरीको थुनामा रहेको सूचना पाएकी थिइन् ।

राजेशले कृष्णपुर नगरपालिकाकै चेतराज भण्डारीले भनेको भन्दै रजनीलाई राजकुमार पक्राउ परेको बताएका थिए ।  सो क्रममा भण्डारीले राजकुमारलाई नेपाल प्रहरीको घुमुवा सादा पोशाकका प्रहरीले गुलरियाको जंगलमा रहेको नर्सरीमा लखेटिरहेको अवस्थामा देखेको बताएको अडियो समेत सार्वजनिक भएको थियो ।