सुदूरपश्चिम मुख्यमन्त्रीमा नागरिक उन्मुक्तीको दावी
2024/03/04, 4:37
 
dd

नागरिक उन्मुक्ति पार्टीमा अध्यक्ष रेशमलाल चौधरीले नयाँ बनेको गठबन्धनप्रति आफ्नो पार्टी सकारात्मक भएको बताएका छन् । बालुवाटारमा नयाँ गठबन्धनको बैठकका बीच बाहिर निस्किएका चौधरीले विगतमा धोका खाएकाले पहिले सहमति गरेरै मात्र सामेल हुने प्रष्ट्याए । उनले पत्रकारसँग भने, ‘हामी नयाँ बनेको गठबन्धनसँग सकारात्मक छौं, हामीले विगतमा धोका खाएकाले सहमतिको निर्णय गरेरै सामेल हुने भनेका छौं, आजै प्रदेश र प्रतिनिधिसभा सदस्यहरूको बैठक बोलाएका छौं, त्यसबाट निर्णय गर्नेछौं, आजको मन्त्रिपरिषद् बैठकमा सहभागी हुँदैनौं ।’

उनले तीन प्रदेश र संघमा आफ्नो पार्टीको प्रतिनिधित्व रहेकाले सोहीअनुसारको सहभागिता निश्चित हुनुपर्ने बताए । ‘गठबन्धन भत्किएर नयाँ बनेको साँचो हो, म अहिले नयाँ टीमको बैठकबाट निस्केको देख्नुभयो, हामी तीन प्रदेश र संघमा छौं, सुदूरपश्चिममा त हामी निणाृयक छौं,यही अनुसार अगाडि बढ्न आग्रह गरेर निस्केको छु ।’ चौधरीले सुदूरपश्चिममा मुख्यमन्त्री जसरी पनि लिने विषय भएको बताएका छन् ।

‘सुदूरमा हामी निर्णायक छौं, हाम्रो पार्टी नै थारु विद्रोहबाट जन्मेको हो, त्यसैले उसको बाहुल्य क्षेत्रमा नेतृत्व दिएर जानुपर्छ, यसमा हामीले दाबी गर्ने होइन जसरी पनि पाउनुपर्छ । अरु ठाउँमा त्यहीअनुसारको सहभागिता हुनुपर्ने छ ।’