जाखोर तालमा हटाइयो जलकुम्भी
2024/03/08, 11:37
 
ss

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित जाखोर ताललाई प्राकृतिक स्वरूपमै संरक्षण गरिएको छ । देवहरिया वनस्पति उद्यानस्थित सो तालमा ढाकिएको मिचाहा प्रजाति जलकुम्भी हटाइएको छ ।

जाखोर तालमा नियमित सरसफाइ नहुँदा कुरूप बन्दै गएको थियो । सुक्खा नलाग्दै पानी सुकेर बगर जस्तो बन्ने समस्या थियो । मिचाहा प्रजाति जलकुम्भी सफा गरिएपछि विभिन्न प्रजातिका जलीय वनस्पतिसहित चराको उपस्थिति बढेको देवहरिया वनस्पति उद्यानले जानकारी दिएको छ । 

जाखोर तालले पर्यावरणीय सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताइएको छ । वनस्पति अनुसन्धान केन्द्र कैलालीका प्रमुख गङ्गादत्त भट्टका अनुसार यो तालमा फूल फुल्ने वनस्पतिका आदिम प्रजाति पाइने गरेका छन् । जाखोर तालमा सेतो कमल ९निम्फिया लोटस० र निलो कमल ९निम्फिया नौचाली०पाइने गरेको छ । यी दुई प्रजातिका कमल कैलालीको ठुला ताल घोडाघोडी र महादेवामा समेत पाइँदैन । जाखोर तालमा सेतो र निलोसहित ठुलो फूल फुल्ने कमल गरी तीन प्रकारका कमल पाइने गरेको छ । ठुलो पात र फूल फुल्ने प्रजातिको कमल घोडाघोडी, महादेवासहित जिल्लाका अन्य तालमा पनि पाइने गरेको छ । 

पर्यावरणीय सन्तुलनका लागि अति महत्त्वपूर्ण थुप्रै जलीय वनस्पतिसहित अति दुर्लभ जङ्गली धान ९ओराइजा रुफिपोगन० पनि जाखोर तालमा पाइने गरेको छ । तालमा पाइने रैथाने जलीय वनस्पतिका कारण जाखोर ताल विभिन्न प्रजातिका चराका लागि महत्त्वपूर्ण गन्तव्य बनेको चराविद् हिरूलाल डङ्गौराले बताउनुभयो । जलीय वनस्पतिमा चराले आहारविहार र प्रजनन गर्ने गरेको उहाँको भनाइ छ । तालमा रहेको सेतो फूल फुल्ने वनस्पति चराका लागि अझ महत्त्वपूर्ण भएको बताइन्छ ।

पछिल्लो समय नेपालमा सङ्कटापन्न सूचीमा रहेको नकटा चरा जाखोर तालमा देखा पर्न थालेका छन् । केही दिनअघि चरा अवलोकनका क्रममा सो तालमा नकटासहित १४ प्रजातिका जलपन्छी अभिलेख गरिएको थियो । जाखोर ताल जैविक विविधता संरक्षणका लागि उत्कृष्ट र अति महत्त्वपूर्ण रहेको भारतको दुधुवा नेसनल पार्कका चरासम्बन्धी अध्येता विक्रम तिवारीले जानकारी दिनुभयो ।

जाखोर ताललगायत मुर्खुट्टा, मुर्खुट्टी तालको संरक्षण र व्यवस्थापन कार्यलाई प्राथमिकतामा राखेर जैविक विविधताको संक्षण र पर्यापर्यटनको विकासमा अघि बढ्नुपर्ने बताइन्छ । तालको संरक्षण, पर्यापर्यटन, अध्ययन, अनुसन्धानका लागि गुरुयोजना बनाउने तयारी भइरहेको र जाखोर तालमा चरा अवलोकन केन्द्र पनि बनाइने तयारी रहेको बताइन्छ ।  गोरखापत्र