गौरीगंगा गोल्डकपः फारवेष्ट पशुपति विजयी 
2024/03/08, 9:06
 
dd

कैलालीको गौरीगंगामा भईरहेको चौथो संस्करणको गौरीगंगा गोल्डकप २०८० मा फारवेष्ट पशुपति युवा क्लब विजयी भएको छ । गौरीगंंगा ११ स्पोर्टस क्लबको आयोजना भईरहेको प्रतियोगिता अन्तगर्त आज भएको खेलमा जित हात पार्दै फारवेष्ट पशुपति युवा क्लब अन्तिम आठमा पुगेको हो । फारवेष्ट पशुपतिले डोटी जिल्ला खेलकुद विकास समितिलाई टाईब्रेकरमा ४–३ ले हराएको हो ।

खेलमा फारवेष्टका गोलरक्षक अमानत सेख खेलको म्यान अफ द म्याच भए । उनले नगद पाँच हजार सहित ट्रफी पाए । प्रतियोगिता अन्तर्गत भोली सुदुरपश्चिम ११ स्पोर्टस क्लब र फारवेष्ट स्पोर्टस कञ्चनपुरबीच खेल हुनेछ ।

कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुदै आएको गोल्डकपको यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५–१५ हजार नगद र हरेक खेलको म्यान अफ दि म्याच हुनेले ५ हजार पाउने छन ।

कैलालीमा राष्ट्रियस्तरका खेल आयोजना गर्न मिल्ने अर्को रंगशाला निर्माणमा जोड दिन प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान आवश्यक रहेकाले सोही अनुसार फुटबलको पुर्वाधार निर्माणका लागि दबाब दिन विगतदेखि गोल्डकप आयोजना गर्दै आएको आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्बलले जनाएको छ ।