सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्रको कामले अब तीव्रता पाउँछः उद्योगमन्त्री भण्डारी
2024/03/15, 6:20
 
ss

संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेशको समृद्धि र विकासलाई टेवा पुग्नेगरी योजनाहरू अघि बढाइने बताएका छन् ।

१५ औं सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव २०८०को समापन समारोहमा उनले सुख्खा बन्दरगाह, औद्योगिक क्षेत्रलगायत यहाँको समृद्धिमा आधार पुग्ने योजनाहरूले प्राथमिकता पाउने बताए ।

‘सुख्खा बन्दरगाह, छेला औद्योगिक क्षेत्रको विकासमा कुनै प्रगति भएको छैन । आसन र भाषणमा रमाउनेहरूले यहाँको विकासमा चासो दिएनन् अघिल्लो पटकको कञ्चनपुर महोत्सवलाई स्मरण गर्दै उनले भने, ‘त्यो बेला भाषण गर्न तँछाडमछाड गर्नेहरूले यहाँको विकासमा चासो देखाएनन् । ’

उनले अघिल्लो गठबन्धनले कुनै काम गर्न नसकेको जिकिर गरे । एमाले नेतृत्वको सरकारले सुरु गरेका कामहरूले अब तीव्रता पाउने मन्त्री भण्डारीले दोहोर्‍याए ।

‘महाकाली कोरिजोर र मोटरेवल पुल सुरु भएको थियो ती सबै आयोजनाले कुनै गति प्राप्त गर्न सकेको छैन। सिङ्गो सुदूरपश्चिम प्रदेशको भविष्य जोडिएको सबै कार्यक्रमहरू थला परेको छ । ती आयोजनहरूलाई फेरि उठाउनु पर्ने छ’ उनले भने , ‘व्यापार घाटा चुलिँदो छ उद्योग व्यवसायी धराशायी भएका छन् । चुनौतीहरूलाई सम्भावनामा बदल्नु छ । प्रतिकुलतालाई छिचोलेर समृद्धिको ठोका खोल्नु छ। ’

उनले लगानीमैत्री वातावरण सृजना गर्न सरकार लागिरहेको बताए । ‘लगानीमैत्री वातावरण सृजना गर्नुपर्ने छ । लगानी सम्मेलनको तयारी भइरहेको बताए । सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार छ ’ उनले भने।

उद्योगी व्यवसायीहरूलाई समस्या भएको भन्दै उनले ब्याजदर घटाउन सरकार तत्पर छ । आयातमुखी अर्थव्यवस्थालाई हटाएर निर्यातमुखी व्यवस्था लागू गर्नुपर्ने बेला भएको भन्दै त्यसको लागि कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रलाई सरकारको तर्फबाट उच्च प्राथमिकता राखेर सञ्चालन गर्ने प्रतिबद्धता गरे । सुख्खा बन्दरगाह महाकाली कोरिडोरलाई पनि अगाडि बढाउने बताए ।

सुदूरको सम्भावनामा रहेको जडिबुटी र खानीहरूको लागि पनि पहल गर्ने प्रतिबद्धता गरे । उनले खानीको अध्ययन गर्ने टोली तयार गर्ने बताए । ‘हिजो अध्ययनमा रहेकाहरूलाई सञ्चालनमा ल्याउने र त्यसको लागि लगानी खोजिने छ’ उनले भने, ‘कञ्चनपुर जिल्लालाई औद्योगिक हबको रुपमा अगाडी बढाइने छ ।’ अगामी वर्षको बजेटमा यहाँको आवश्यकतालाई प्राथमिकता दिने मन्त्री भण्डारीले बताए ।