एमाले कञ्चनपुर अधिवेशनमा विवाद, निर्वाचन कार्यालयमा तालाबन्दी
2024/03/18, 2:05
 
dd

नेकपा एमाले कञ्चनपुरको जिल्ला अधिवेशनमा विवाद भएको छ । नवौं जिल्ला अधिवेशनमा प्रतिनिधीहरुको भावना विपरीत पदाधिकारी घोषणाको तयारी भएपछि विवाद सृजना भएको हो ।

अध्यक्ष मण्डलले सोमबार पदाधिकारीमा सर्वसम्मत घोषणा गर्ने तयारी गरेपछि सचिवमा उम्मेदवारी दिएका कर्णबहादुर चन्दले जिल्ला पार्टी कार्यालयको निर्वाचन कार्यालय कार्यालय तालाबन्दी गरेको बताए ।

‘२४ जना बसेर प्रतिनिधिको भावनाविपरीत पदाधिकारी घोषणा मान्य हुँदैन’, तालाबन्दीपछि चन्दले भने, ‘कि सबैको भावना समेटिनु पर्छ नत्र निर्वाचन हुनुपर्छ ।’ एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि ४ सय ६४ मतदाता रहेका छन् । चन्दले ती प्रतिनिधीहरुबाट नेतृत्व चयनको अधिकार नखोस्न आग्रह गरे ।

‘अन्य व्यक्तिको बारेमा खासै समस्या होइन । अघिल्लो पटक सदस्यमा चुनाव हारेकालाई उपाध्यक्ष बनाउने सहमतिका कारण विरोध भएको हो,’ एक नेताले भने, ‘कर्ण कमरेड उपसचिवमा पहिले सर्वाधिक मत ल्याएर जित्नुभएको थियो । उहाँलाई कुनै न कुनै भूमिका दिनुपर्ने थियो ।’ अध्यक्ष केपी शर्मा ओलीले १ चैतमा अधिवेशन उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए ।

उनले सम्भव हुँदासम्म सर्वसम्मत नभए स्वच्छ निर्वाचन मार्फत नेतृत्व चयन गर्न नेता कार्याकर्ताहरुलाई निर्देशन दिएका थिए ।अध्यक्ष मण्डलका सदस्य सहित नेताहरु अधिवेशन सर्वसम्मत बनाउन छलफल जारी राखेका छन् । कञ्चनपुरको जिल्ला अधिवेशन उद्घाटन गरेको चौथो दिन डडेल्धुरा जिल्ला अधिवेशनको उद्घाटन गर्न ओली कैलाली पुग्दा सम्म पनि नेतृत्व चयन हुन नसकेको हो ।