हामीलाई राहत होइन, छोराको अवस्था पत्ता लगाइनुपर्यो: विपिन जोशी परिवार
2024/03/18, 2:07
 
ss

हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबा महानन्दले छोराको उद्धारमा पहल गरिदिन आग्रह गरेका छन् । सरकारले राहतभन्दा पनि छोराको उद्धारमा पहल गरिदिन उनले आग्रह गरेका छन् ।

उनले राहत आएको सुने पनि त्यसबारे चासो दिएका छैनन्। ‘छोराको उद्धार गरिदिनुपर्‍यो, हामीलाई अरूथोक भन्दा पनि छोरा चाहियो,’ जोशीले भने, ‘छोराको खबर कतैबाट सुनिन्छ कि भनेर बसेका छौं, यतिका दिनसम्म केही खबर पाइएन ।’इजरायली दूतावासले जोशी परिवारको खाता नम्बर मागेको थियो ।

उक्त खातामा रकम पठाएको जानकारी पनि गरेको छ । तर रकम कति आयो भन्नेबारे उनले बताएनन् । निवर्तमान परराष्ट्रमन्त्री एनपी साउदलाई उनको परिवारले तीनपटक भेटेर उद्धारका लागि आग्रह गरेको थियो । ‘परराष्ट्रमन्त्री यही जिल्लाका थिए, सोध्न त सजिलो थियो,’ जोशीले भने, ‘अब त्यही सोध्न पनि हाम्रो पहुँच छैन ।’ सरकारले जोशीको रिहाइका लागि इजरायल, कतार र अन्तर्राष्ट्रिय मानव सहायतासम्बन्धी संस्थाहरूलाई आग्रह गरेको छ । तर इजरायल र हमासबीचको युद्ध नरोकिएका कारण जोशीसहित एक सयभन्दा बढी मुलुकका नागरिकलाई हमासले बन्दी बनाएरै राखेको छ ।

नेपालका लागि इजरायलका राजदूत हनान गोदरले पीडित परिवारलाई इजरायली सरकारले आजीवन भत्ता दिने निर्णय गरेको बताए । ‘इजरायलको कानुनले इजरायली र नेपालीलाई समान व्यवहार गर्छ । इजरायली भूमिमा पाहुनाको रूपमा आउँदा नेपालीको मृत्यु भएको हो,’ उनले भने, ‘त्यसैले इजरायल सरकारले १० जनाको परिवार र अहिले हमासको कब्जामा रहेका जोशीको परिवारलाई भत्ता दिन थालेको छ ।’

कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका नेपाली विद्यार्थीहरू हमासको आक्रमणमा मारिएका थिए । मृत्यु हुनेमा घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी, लेकम–५ दार्चुलाका दीपेशराज विष्ट, सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पचनाली–३ डोटीका राजन फुलारा, लमिखल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी छन् ।