सुदूरपश्चिममा एकैदिन विभिन्न मुद्दाका ८ फरार प्रतिवादी पक्राउ
2024/03/18, 2:15
 
dd

सुदूरपश्चिममा एकै दिन विभिन्न मुद्दाका ८ जना फरार दोषी ९प्रतिवादी०पक्राउ परेका छन्। जिल्ला अदालतको बिभिन्न मितिको फैसलाले विभिन्न मुद्दामा जरिवाना ठहर भई फरार रहेका सुदूरपश्चिमका तिन जिल्लाका दोषी पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा कैलाली, कञ्चनपुर र बाजुराका विभिन्न मुद्दाका दोषीहरु छन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका वन पैदावार बिना ईजाजत ओसार–पोसार मुद्दामा २ लाख ३१ हजार १३६ जरिवाना ठहर भएकी घोडाघोडी ६ का धना पार्की, वन मुद्दामा रु ३० हजार २०१ जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१३ बस्ने कर्णबहादुर बोहरा रहेका छन्।

यी दुबै जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए। यस्तै जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका कुटपिट मुद्दामा ७५० जरिवाना ठहर भएका दोधारा चाँदनी नगरपालिका–७ बस्ने कर्णे दमाई र लुटपाट मुद्दामा १ हजार ८७५ जरिवाना ठहर भएका दोधारा चाँदनी नगरपालिका–७ बस्ने ईन्द्र बहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए। यी दुबै जनालाई आईतवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुकै घरबाट पक्राउ गरेको डाँगीले जनाकारी दिए।

यस्तै बाजुराबाट थप ४ जना दोषी पक्राउ परेका छन्। जिल्ला अदालत बाजुराको फैसलाले हातहतियार सम्बन्धी कसुर मुद्दामा ९ महिना १७ दिन कैद सजाय र १०हजार जरिवाना ठहर भई फरार रहेका बाजुराको बुढीनन्दा नगरपालिका–८ बस्ने कविन्द्र बोहरा, आईते बोहरा, दले कामी र बुढीनन्दा नगरपालिका–१० बस्ने पृथ्वीबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। आइतवार अस्थाई प्रहरी पोष्ट पाण्डुसैन, बाजुराबाट खटिएको प्रहरी टोलीले चारै जनालाई घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। फरार रहेका ८ जनालाई फैसला कार्यान्वयनको लागि प्रहरीले सम्बन्धित अदालत समक्ष पेश गरिसकेको छ।