कैलालीमा धमाधम पक्राउ पर्दै फरार प्रतिवादीहरुः १ सय ६ जना एक महिनामै समातिए
2024/03/20, 2:42
 
dd

जिल्ला प्रहरी प्रहरी कैलालीले एक महिना अवधीमा १ सय ६ जना फरार प्रतिबादी पक्राउ गरेको छ । सो अवधीमा विभिन्न मुद्दामा कैद सजाय तथा जरिवाना पाएर लामो समयदेखि फरार रहेका धमाधम प्रतिवादी पक्राउ पर्न थालेको कैलाली प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीको नेतृत्वमा अहिले प्रहरी उपरीक्षक एसपी० पदमबहादुर बिष्ट छन् । एसपी बिष्टले गत फागुन ७ गते कैलाली प्रहरीको कमाण्ड सम्हालेका थिए । प्रहरीको नेतृत्व सम्हालेको ठिक एक महिना अवधीमा एकपछि अर्को गर्दै फरार प्रतिवादीलाई पक्राउ गर्न थालेका छन् ।एक महिनामा प्रहरीले जिल्लाबाट विभिन्न स्थानबाट विभिन्न मुद्दामा दोषी ठहर भएर फरार भएका प्रतिवादीलाई पक्राउ गरी अनुसन्धान अघि बढाई कारवाहीका लागि सम्बन्धीत निकायमा पठाइएको छ।

सबैभन्दा धेरै वन सम्बन्धी मुद्दाका ३० जना फरार प्रतिवादी पक्राउ परेका छन्। त्यसपछि लागुऔषध मुद्दाका १६ जना, चेक अनादर मुद्दाका १० जना, अपराधिक विश्वास घात मुद्दाका ६ जना, सवारी ज्यान मुद्दाका ५ जना र जालसाजी मुद्दाका ५ जनालाई पक्राउ गरेर आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।कुटपिट, गाली बेइज्जती, आत्महत्या दुरुत्साहन, आगजनी, जबरजस्तीकरणी लगायत मुद्दाका थप ३४ जनालाई समेत पक्राउ गरेर कारवाहीका लागि सम्बन्धीत निकायमा पठाइएको छ।

अपराधिक गतिविधिमा संलग्न भएर अदालतबाट सजाय पाइसकेका तर लामो समयदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गर्न विशेष अभियान चलाइएको एसपी बिष्टले बताए । सोही अन्तरगत जिल्लास्थित मातहतका सबै प्रहरी कार्यालय र युनिटको सक्रियतामा एक महिनामा उल्लेख्य प्रगती भएको उनको भनाई छ । कैलाली प्रहरीले चालु आर्थिक वर्षको ७ महिनामा यसअघि ३१ जना फरार प्रतिवादी मात्र पक्राउ गरेको थियो । एक महिनामा समातिएका फरार प्रतिवादीको संख्या यो भन्दा तीन गुणाले बढि देखिएको छ। यसरी कैलाली प्रहरीलेविभिन्न मुद्दामा कैद सजाय तथा जरिवाना पाएर लामो समयदेखि फरार रहेका धमाधम प्रतिवादी पक्राउ परीरहेका बताएको छ ।