राप्रपाले सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने/नगर्नेबारे बनाउन सकेन धारणा
2024/03/21, 4:57
 
dd

राष्ट्रिय प्रजातन्त्र पार्टीको सुदूरपश्चिम प्रदेशको कार्य सम्पादन समितिको बैठक प्रदेश सरकारमा सहभागिताको निर्णय नगरी सकिएको छ। बुधबार धनगढीमा सम्पन्न बैठकमा सुदूरपश्चिम प्रदेश सरकारकाबारेमा समेत छलफल भएको थियो तर कुनै निर्णय नभएको कार्य सम्पादन समितिका सचिव छत्रबहादुर शाहीले जानकारी दिए ।

प्रदेश सचिव शाहीका अनुसार बैठकमा सरकारलाई समर्थन गर्नुपर्ने र गर्न नहुने दुबै मत आएको छ। ‘समर्थन गर्ने अवस्थामा सरकारमै जानुपर्छ भन्ने सुझाव पनि आएका छन् तर आज कुनै निर्णय हुन सकेन’, शाहीले भने। यो विषयमा केन्द्रीय कार्यसम्पादन समितिले फेरि एकपटक ९ वटै जिल्लाका अध्यक्षसँग प्रदेश सरकारका बारेमा छलफल गर्ने भएकाले तत्काल कुनै निर्णयमा नपुगिएको शाहीले बताए ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बहुमत पुर्‍याउन नागरिक उन्मुक्ति पार्टीका पाँच जनालाई मन्त्री बनाएका छन् । शाहलाई कांग्रेसका १८ र नाउपाका ७ गरेर २५ जनाको मात्र समर्थन भएकाले उनले बहुमत पुर्‍याउन राप्रपा र स्वतन्त्र सांसद डा।ताराप्रसाद जोशीको साथ खोजेका छन् । दुवैले समर्थन गरेमा मात्र उनलाई चाहिने बहुमत प्रदेशसभा सदस्य २७ जना पुग्छ ।

तर राप्रपा र स्वतन्त्र सांसदले नागरिक उन्मुक्ति पार्टीभित्र सरकारको विषयलाई लिएर दुई धार भएकाले ७ जनालाई नै विश्वासमा लिएपछि मात्र आफूहरुले समर्थन गर्ने वा नगर्ने निर्णय गर्ने जवाफ मुख्यमन्त्रीलाई दिएका छन् ।दुवैले समर्थन गरेमा मात्र उनलाई चाहिने बहुमत प्रदेशसभा सदस्य २७ जना पुग्ने भएकाले मुख्यमन्त्री फकाउन सक्रिय छन् ।