मोहना र खुटिया नदीमा १२ वटा प्याकेजमा तटबन्ध निर्माण कार्य तिब्र
2024/03/21, 5:00
 
ss

कैलालीको मोहना र खुटिया नदीमा १२ वटा प्याकेजमा तटबन्ध निर्माण कार्य तिब्र भइरहेको छ । एसियाली विकास बैङ्क एडिबीको ऋण सहयोगमा नदी कटान तथा रोकथाम नियन्त्रणका लागि ५२ करोड लागतमा तटबन्ध निर्माण भइरहेको हो । बर्खामा नदीले खेतीयोग्य जमिन तथा बस्ती कटान गर्ने भएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि एसियाली विकास बैङ्क एडिबी को लगानीमा मोहना र खुटिया नदीमा तटबन्ध निर्माण भइरहेको जनताको तटबन्ध कार्यालय कञ्चनपुरले जनाएको छ ।

जनताको तटबन्ध फिल्ड कार्यालय कञ्चनपुरका सबइन्जिनियर प्रकाश खड्काका अनुसार ती दुवै नदीमा १२ वटा प्याकेजमा तटबन्ध निर्माणको काम भइरहेको छ । मोहना र खुटिया नदीमा १२ किलोमिटर तटबन्ध निर्माणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । दुवै नदीमा तटबन्ध निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ मा तीन वर्षभित्र काम पूरा गर्ने गरी टिम्स–राजेन्द्र–कुमार जेभीसँग रु ५२ लाखमा ठेक्का सम्झौता भएको सबइन्जिनियर खड्काले बताए ।

केही प्याकेजको काम पूरा भइसके बताउँदै उनले भने, “बाँकी प्याकेजको काम तीव्ररुपमा भइरहेको छ ।” निर्माण कम्पनीले चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी तटबन्धको काम भइरहेको सबइन्जिनियर खड्काले जानकारी दिए। उनले दुवै नदीमा अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भइसकेको बताए ।तटबन्ध कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा सात सय मिटर तटबन्ध निर्माणको काम पूरा भएको छ । सोही नदीको कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ मा एक हजार तीन सय ५० मिटर तटबन्ध निर्माण सकिएको जनाइएको छ ।

मोहना नदीमै पिआरटिडब्लु–१२ ‘बी’ प्याकेजअन्तर्गत तथा कञ्चनपुरको जोरायल टोलतर्फ पाँच सय २० मिटर तटबन्ध निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।यसैगरी, धनगढी उपमहानगरपालिका–१३ स्थित श्रीलङ्कामा चार सय ३० मिटर तटबन्ध निर्माण सम्पन्न भइसकेको कार्यालयले जनाएको छ । कृष्णपुर नगरपालिका–१, मोहना नदीमै छ सय मिटर बाँध र सात सय मिटर तटबन्ध निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ । यसैगरी, खुटिया नदीको विभिन्न स्थानमा तटबन्ध निर्माण कार्य जारी छ । सो कार्यालयका अनुसार गोदावरी नगरपालिकाको अर्जुन टोलमा एक हजार छ सय मिटर, वडा नं ७ मा तीन सय मिटर र गौरीगङ्गा नगरपालिकाको उत्तर खैरेनीतर्फ आठ सय मिटर तटबन्ध निर्माण भइरहेको छ ।

यसैगरी, गोदावरी नगरपालिकाको धनचौँरीमा एक हजार मिटर र धनगढी उपमहानगरपालिका–१५ तरबरियामा चार सय मिटर तटबन्ध निर्माण सम्पन्न हुने क्रममा रहेको सबइन्जिनियर खड्काले जानकारी दिए । वर्षायाममा मोहना र खुटिया नदी बर्सेनि सयौँ हेक्टर जमिन कटान गर्दै आएकामा जनताको तटबन्ध कार्यक्रमले नदी कटान तथा रोकथाम नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । ती दुवै नदीबाट हुने सम्भावित क्षति रोक्न तटबन्ध निर्माण प्रभावकारी हुने जनाइएको छ ।

यसैबीच, धनगढी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित पाँचवटा सामुदायिक विद्यालयमा ‘स्मार्ट बोर्ड’ वितरण गरिने भएको छ । नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत ग्रामीण भेगका पाँचवटा विद्यालयलाई रु एक करोड १० लाखको स्मार्ट बोर्ड वितरण गरिने भएको हो ।सामुदायिक विद्यालयमा पठनपाठन गुणस्तरीय र प्रभावकारी बनाउन उपमहानगरले विभिन्न पाँचवटा सामुदायिक विद्यालयलाई नमूना विद्यालय घोषणा गरेको छ । स्मार्ट बोर्ड र शिक्षकहरूलाई आवश्यक तालिम दिएपछि ती विद्यालयमा प्रविधिको प्रयोग गरी पठनपाठन हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले बताए । रासस