सुदूरपश्चिममा ठेक्का लिएर काम नगर्ने तीनवटा निर्माण कम्पनी कालो सूचीमा
2024/03/27, 5:35
 
ss

सुदूरपश्चिममा समयमा काम नगर्ने तीनवटा कम्पनी कालो सूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमनको कार्यालयले ती निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो। ठेक्का लिएर समयमा काम नगरेको भन्दै विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा कार्यालयले निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो। कार्यालयले केही निर्माण कम्पनीहरूलाई तीन वर्षसम्म कालोसूचीमा राखेको छ।

दिपायलको आई.एस.कन्स्ट्रक्सन प्रालिलाई सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सिफारिसमा कार्यालयले तीन वर्षका लागि कालोसूचीमा राखेको छ। ती कम्पनीका मुख्य व्यक्ति छत्रबहादुर कठायत हुन्। त्यस्तै सडक डिभिजन कार्यालय अछाम साँफेबगरको सिफारिसमा एकेएस कन्स्ट्रक्सन भरतपुर चितवनलाई एक वर्ष तीन महिनाका लागि कालो सूचीमा राखिएको छ। सो कम्पनीका मुख्य व्यक्ति कुमार विक्रम शाह हुन्।

सडक डिभिजन कार्यालय अछामकै सिफारिसमा पञ्चपुरी कन्स्ट्रक्सनलाई पनि कालो सूचीमा राखिएको छ। सो कम्पनीलाई एक वर्ष तीन महिनाका लागि कालो सूचीमा राखिएको छ। कम्पनीका मुख्य व्यक्ति कुस्माकुमारी आचार्य (अधिकारी) हुन्। सार्वजनिक खरिद अनुगमन कार्यालयले सुदूरपश्चिममा तीनसहित विभिन्न २३ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।