अछाममा भयावह बन्दै लागुऔषधको प्रयोग
2024/04/01, 3:01
 
ss

अछाममा लागुऔषधको प्रयोग चिन्ताजनक ढंगले बढ्दै गएको छ। केही समयपहिले सुदूरपश्चिम प्रदेशको दुई तराईका जिल्ला कैलाली र कञ्चनपुरमा लागुऔषधका घटनाहरू सुनिन्थे। अहिले लागुऔषध बेचबिखन र ओसारपसारमा संलग्न गिरोह पहाडी जिल्लाका विकट गाउँबस्तीसम्म पुग्न थालेका छन्।

तराईका जिल्लाहरूबाट लागूऔषध यहाँ भित्रिने गरेको छ। खैरो हिरोइन, चरेसलगायतका लागुपदार्थ प्रयोग गर्ने कलिलो उमेरका किशोरकिशोरीदेखि युवाहरूको संख्या बढ्दै गएको छ। तराईका जिल्लाहरूबाट खैरो हिरोइनलगायतका लागूपदार्थ ल्याएर बिक्री गर्ने गिरोह सक्रिय रहेको छ। लागुऔषधको कारोबार गर्ने गिरोहले किशोरकिशोरी र युवायुवतीलाई बिक्री वितरण गर्ने गरेको छ। प्रहरीले लागुऔषधको प्रयोग गर्ने र सानो मात्रामा बोक्नेलाई पक्राउ गरे पनि कारोबार गर्ने मुख्य गिरोहका व्यक्तिहरूलाई समातेर कारबाही गर्न सकेको छैन। 

जिल्लामा दुई वर्षको अवधिमा लागूऔषधसम्बन्धी ७ मुद्दा दर्ता भएको र १७ जना पक्राउ परेको तथ्यांक प्रहरीसँग छ। गत आर्थिक वर्षमा ५ मुद्दा दर्ता र १२ जना पक्राउ परेका छन्। यसैगरी चालु आर्थिक वर्षमा दुई मुद्दा दर्ता भई ५ जना पक्राउ परेका छन्। गत आर्थिक वर्षमा चरेस १ हजार ११ ग्राम र चालु आर्थिक वर्षमा २८ ग्राम ९०२ मिग्रा चरेस, ७ सय ४० मिलिग्राम खैरो हिरोइन फेला पारेको छ। प्रहरीले लागुऔषध नियन्त्रण सञ्जाल समितिसमेत गठन गरेको छ।

प्रहरीले एक जिल्लास्तरीय, ९१ वडा स्तरीय, १० पालिकास्तरीय, १ सय ६ विद्यालयस्तरीय गरी २ सय ८ वटा सञ्जाल गठन गरेको प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले जानकारी दिए। उनले भने, सबैभन्दा पहिले त लागूऔषधको कारोबारको सूचना पाउनै मुस्किल छ, केही लागुऔषध सेवन केही ओसारपसारमा पक्राउ पर्ने गरेका छन्। लागुऔषध प्रयोगकर्ता र बिक्रीवितरण गर्ने गिरोह विकट गाउँगाउँमा पुगिसकेको अवस्था छ। नियन्त्रण गर्न चुनौती छ पछिल्लो समय पहाडी जिल्लाहरूमा।’ प्रहरीले विद्यालय र समुदायस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्दे आएको छ। लागुऔषध फेला परेका जो कोहीलाई पनि प्रहरीले समातेर कारबाही गर्ने गरेको डीएसपी पाठकले बताए।