सुदूरपश्चिमका मुख्यमन्त्री शाह बिहीबार विश्वासको मत लिँदै
2024/04/02, 2:13
 
ss

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गरेका छन्। नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री शाहले बिहीबार दिउँसो ३ बजे विश्वासको मत लिने तयारी गरेका हुन्। आज बसेको प्रदेश सभा सचिवालयले सोही अनुसार प्रदेश सभा बैठक आह्वान गरेको छ। प्रदेश सभा सचिव देवराज बोगटीले प्रदेश सभा सदस्यहरुलाई बैठकबारे म्यासेज पठाइसकेका छन्।

५३ सदस्यीय प्रदेश सभामा हाल ५२ प्रदेश सभा सदस्य रहेका छन्। यस प्रदेशमा बहुमत ल्याउन २७ मत आवश्यक रहे पनि कुनै दलसँग बहुमत छैन। सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसका १८ र उन्मुक्तिका सात गरि २५ जना पुग्छ। मुख्यमन्त्रीलाई विश्वासको मत दिन स्वतन्त्र प्रदेश सभा सदस्य तारा जोशी र राष्ट्रिय प्रजातन्त्र पार्टीकी खेमादेवी विष्टको समर्थन जरुरी छ। यी दुईमध्ये कुनै एकले यो सरकारको समर्थन नदिए शाह अल्पमतमा पर्नेछन्।

मुख्यमन्त्री शाह स्वतन्त्र र राप्रपा प्रदेश सभा सदस्यको समर्थन पाउनेमा विश्वस्त रहेको बताउँछन्। तर, राप्रपाकी प्रदेश सभा सदस्य विष्टले सरकार गठनमा साथ र सहयोग दिनेबारे कुनै निर्णय नभएको बताइन्।  स्वतन्त्र प्रदेश सभा सदस्य जोशीले भने मुख्यमन्त्री शाहले विश्वासको मत पाएपछि सरकारमा जाने तयारी गरेका छन्। फागुन २५ गते बिना विभागीय मन्त्रीमा नियुक्त खुशीराम चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र २८ गते नियुक्त भएका लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन्।