बद्लिँदै गन्तव्य, फेरिँदै काम
2024/04/09, 1:19
 
ss

पश्चिम तराईका थारु समुदायका युवा खेतबारीको काम सकिएपछि पटके कामको खोजीमा सीमावर्ती भारतका पहाडी क्षेत्रमा पुग्थे । उनीहरुको रोजगारीको प्रमुख गन्तव्य उत्तराखण्ड र हिमाञ्चल प्रदेशका पहाडी क्षेत्र थियो । धान रोपाइँ सकेर असार–साउनतिर अधिकांश युवा हिमाञ्चलका पहाडी बगानमा स्याउ टिप्न पुग्थे । कोही नजिकै उत्तराखण्डको कुमाउ र गडवाल पुग्ने गरेका थिए ।

बर्षायाममा भारत पसेकाहरु प्रायः दसैतिहार र माघी मनाउन घर फर्कन्थे भने धानबाली भित्र्याएर कामको खोजीमा गएकाहरु यतिबेला नयाँ वर्ष र चैतै दशैं मनाउन घर फर्किरहेका छन् । हालका वर्षमा कामको खोजीमा भारत पस्ने थारु युवाको रोजाइ हिमाञ्चल र उत्तराखण्डमा मात्र सीमित छैन, उनीहरुको गन्तब्य भारतका दक्षिणी राज्यसम्म बिस्तार भएको छ । उहिलेको जस्तो चाडपर्वका बेला र खेतीपातीकै समयमा घर फर्कने चलन पनि हट्दै गएको छ । केहीवर्ष अघिसम्म गाउँका अगुवाहरुले काम खोज्दै जता पुर्‍यायो, त्यतै पुग्ने गरेका उनीहरु अहिले आएर दिल्लीदेखि भारतको पर्यटकीय नगरी गोआसम्म पुग्न थालेका छन् ।

भारतका ठूला सहरमा पुग्न थालेपछि उनीहरुको रोजगारी पनि परिवर्तन हुन थालेको छ । ‘दिल्लीनजिक नोएडाबाट आएको हुँ, दसैतिहारमा घर आउन पाएन यसपटक नयाँ बर्ष मनाउन फर्के,’ बर्दियाको ठाकुरबाबा नगरपालिका–८ रानीपुरका विकास चौधरीले भने, ‘एक महिनापछि फेरि नोएडा फर्कन्छु ।’ महेन्द्रनगरदेखि नेपालगञ्जसम्म सञ्चालन हुने माइक्रो बसको अघिल्लो सिटमा बसेर घर फर्किरहेका उनी घर र नोएडाका साथीहरुलाई फोनमा जवाफ फर्काइरहेका थिए । ‘दिल्ली आनन्द बिहारमा राति ९ बजे बस चढेको बिहान बनवासा हुँदै दिउँसोसम्म बर्दियाको भुरेगाउॅ नजिकैको रानीपुर पुग्छु,’ उनले भने ।

उनी भारतको राजधानी नयाँदिल्ली छेवैको नोएडास्थित द स्काइ नाइट क्लबमा अढाइ वर्षदेखि काम गरिरहेका छन् । जहाँ उनको गाउँ रानीपुर र छिमेकी गाउँका १२ जना काम गरिरहेका छन् । तीन वर्षअघि पहिलो पटकमै कामको खोजीमा भारत पसेका उनले केही दिन दिल्ली र नोएडाका साना होटलमा काम गरे पनि साथीहरुकै सम्पर्कबाट स्काइ नाइट क्लबमा काम गर्ने अवसर पाएका हुन् । ‘तलब राम्रै छ, खाना र बस्ने सुविधासँगै टिप्स र बोनस पनि पाइन्छ,’ विकासले भने, ‘क्लबमा ७० जना कामदार मध्ये १२ नेपाली र अन्य धेरैजसो भारतको नागाल्याण्ड, असम, अरुणाचल प्रदेशतिरका युवायुवती छन् ।’

साँझ परेदेखि सुरु हुने क्लबको चहलपहल राति २र३ बजेसम्म भइरहने उनले बताए । उनका अनुसार सिमलातिर स्याउ टिप्ने, प्याकिङ गर्ने र बगानको घाँस काट्ने जस्तो झन्झटिलो काम भन्दा युवाको रोजगारीको रोजाइ ठूला सहरतिर होटल, क्लब, उद्योग व्यवसायमा हुन थालेको छ ।

कञ्चनपुरमा रानाथारु समुदायको घनाबस्ती रहेको लालझाडी गाउँपालिका–४ देखतभुलीका रामबाबु रानाका अनुसार थारु युवाहरु केही वर्षयता भारत पसेर परम्परागत रुपमा गर्ने रोजगारीमा बद्लाव चाहिरहेका छन् । उनीहरु कमाईका लागि उहिले भारतको सीमावर्ती क्षेत्रमा पुग्ने गरेका थिए भने आजभोली दक्षिण भारतको बैंगलुरु, चेन्नइदेखि केरलाका सहरसम्म पुग्न थालेका छन् । ‘अहिलका थारु युवा पढेलेखेका पनि छन्, उनीहरुको रोजाइ, ठूला होटल, क्लब, क्यासिनोको काममा छ,’ उनले भने, ‘पहिलेको भन्दा कमाई पनि राम्रै छ, नयाँ काम सिक्ने अवसर पनि पाएका छन् ।’

नयाँ वर्ष र चैते दसैको नवरात्री सुरु हुन लाग्दा कामको खोजीमा भारतका बिभिन्न सहर पसेका नेपाली घर फर्कने क्रम बढ्दै गएको छ । कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर गौरीफण्टा नाका भएर दिनहॅु ५ सयदेखि एक हजार जनाको संख्यामा नेपालीहरु घर फर्किरहेका छन् । सीमानाकामा तैनाथ सुरक्षाकर्मीहरुका अनुसार चैत पहिलो सातादेखि सुरु भएको नेपाली कामदारको घर फर्कने क्रम दोस्रो सातादेखि ह्वात्तै बढेको हो । गौरीफण्टा र गड्डाचौकी नाका भएर घर फर्कनेमा अधिकांश सुदूरपश्चिम तथा कर्णाली प्रदेशका छन् । कान्तिपुरबाट