खेलकुदमा अब्बल सुदूरपश्चिम
2024/04/20, 3:48
 
ss

बझाङ, बाजुरा र अछामलगायत सुदूरपश्चिमका केही पहाडी जिल्लाका खेलकुद विकास समितिका कार्यालय भाडाकै भवनबाटै सञ्चालन भइरहेका छन् । यहाँका अधिकांश स्थानमा खेलकुदका लागि पर्याप्त सुविधा छैन । कतिपय स्थानमा त आधारभूत सुविधा पनि उपलब्ध हुन नसकेको अवस्था छ ।

यद्यपि खेलकुदमा आवश्यक लगानी र भौतिक पूर्वाधार अभावका बिच पनि यहाँका खेलाडीले आफूहरूलाई राष्ट्रियस्तरमा अब्बल साबित गरिरहेका छन् । उनीहरूले खेलमार्फत सुदूरपश्चिम प्रदेशको नाम उँचो बनाएका छन् । पालिका हुँदै जिल्ला र प्रदेशबाट छनौट भएका उनीहरूले १४ औँ केन्द्र स्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा सुदूरपश्चिमलाई प्रथम बनाए । पर्याप्त खेल संरचना र प्रशिक्षक नहुँदा पनि यहाँका खेलाडीहरूको गरेको उच्च प्रदर्शनबाट सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहले खुसी व्यक्त गरे । 

१३ औँ राष्ट्रपति रनिङ शिल्डमा सात स्वर्णमै सीमित सुदूरपश्चिम यस पटक भने राष्ट्रपति रनिङ शिल्डमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य गरी ४९ पदकसहित शीर्ष स्थानमा रहेको भन्दै खेलाडीको प्रशंसा गरे । प्रदेशमा ठुला खेल संरचनाका नाममा कञ्चनपुरको महेन्द्रनगरमा बहुउद्देश्यीय कर्बडहल, कैलालीको टीकापुरमा स्पोर्टस एकेडेमी र डडेलधुरामा सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा मिनी कर्बडहल बन्दैछन् । त्यसबाहेक पहाडी जिल्लामा खेलकुदको विकासमा आवश्यक लगानी हुन नसकेको जानकारहरू बताउँछन् ।

“सुदूरपश्चिम खेलकुदको हब भएको कुरा अहिलेको नतिजाबाट पनि प्रष्ट भएको छ”, सदस्यसचिव सिंहले भने, “केही खेलमा प्रशिक्षक उत्पादन र खेलकुदको समग्र विकासमा सरकारले लगानी बढाउने हो भने सुदूरपश्चिम अन्य प्रदेशको तुलनामा अझै अब्बल हुनेछ ।” उनले महेन्द्रनगर र टीकापुरमा प्रदेश सरकारको १४९१४ करोडको लगानीमा दुई ठुला खेलकुद संरचना बनेपछि खेलकुदको माहौल थप सशक्त हुनेमा विश्वास व्यक्त गरे ।

“एथलेटिक्स, कबड्डी, उसु, तेक्वान्दोलगायतका खेलमा हाम्रो राम्रो प्रदर्शन रह्यो”, उनले भने । उनले प्रतियोगिता अघि प्रदेशभरीका सबै खेलाडीलाई एक महिना बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिइएको बताए। उनका अनुसार सुदूरपश्चिमबाट ९८ जना खेलाडीका साथै प्रशिक्षक र व्यवस्थापक गरी एक सय १५ जना रनिङ शिल्डमा सहभागी भएका थिए । उनले लगातार भइरहेका खेलकुद गतिविधिका कारण खेलाडीको प्रदर्शन सुधारिएको र सकारात्मक नतिजा आइरहेको बताए ।

“सुदूरपश्चिममा धनगढी र महेन्द्रनगरमा रङ्गशालासहित खेल संरचना व्यवस्थापन गर्न सके अझ बढी फड्को मार्न सकिन्छ”, उनले भने, “अझै १०९१५ जना प्रदेशका खेल प्रशिक्षक थप आवश्यक छ ।” उनले यहाँका पहाडी जिल्लामा खेलकुद समिति नै भाडामा रहेको अवस्थामा प्रशिक्षकलगायत अन्य व्यवस्थापन पनि गर्न राज्यको ध्यान नपुगेको बताए । यति हुँदाहुँदै पनि राम्रो खेलाडी उत्पादन हुनु राम्रो भएको उनको बुझाइ छ ।

बक्सिङ्ग ओलम्पियन डम्बरदत्त भट्टले राष्ट्रपति रनिङ शिल्डमा सुदूरपश्चिमले ल्याएको नतिजाबाट प्रदेश खेलकुदमा अब्बल रहेको प्रष्ट भएको बताए । “वीरेन्द्र शिल्डदेखि राष्ट्रपति शिल्ड पुग्दासम्म सुदूरपश्चिम प्रदेश राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा अगाडि देखिएको छ”, भट्टले भने, “खेलाडीहरू सेवा सुविधाको अभाव र भविष्यको सुनिश्चितताको अन्यौलताका बिच उत्कृष्ट प्रदर्शन गरेका छन् । उनीहरूलाई जोगाउनका लागि सरकारको ध्यान दिनुपर्छ ।”

उनले पनि खेलाडीहरूले एकपछि अर्को प्रतियोगितामा ल्याइरहेको सकारात्मक नतिजा सुरक्षित राख्न प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । “सुदूरपश्चिमको खेलकुद जगतका लागि अहिलेको नतिजा ऐतिहासिक हो”, उनले भने, “अझै पनि नयाँ खेलाडीहरूको तन र मन खेलप्रति छ भन्ने पनि यसबाट देखिएको छ।” केही समयअघि बाग्मती प्रदेश खेलकुद विकास समितिले आयोजना गरेको प्रथम अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा पनि सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शन गरेको थियो । सो अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमले २१ स्वर्ण, २९ रजत र २१ कांस्यसहित दोस्रो स्थान ओगटेको थियो । रासस