कैलालीमा कालोपत्र गरिएको सडकमा चार महिनामै घाँस उम्रियो
2024/04/29, 5:49
 
ss

कालोपत्र गरेको चार महिनामै सडकमा घाँस उम्रिएको छ। कैलालीको लम्कीचुहा नगरपालिका–३ को व्यवस्थित नगरमा पुसको अन्तिममा गरिएको कालोपत्र सडकमा घाँस ९दुबो० उम्रिएको हो।

सडकका विभिन्न भागमा कालोपत्रसमेत उप्किन थालको छ। निर्धारित समयभन्दा निकै ढिलोगरी निर्माण भएको सडक गुणस्तरहीनसमेत बनेको छ। सडकमा घाँस उम्रन थालेपछि तथा छोटो समयमै सडक भत्किँन थालेपछि स्थानीय चिन्तित छन्। कालोपत्र गरिएको सडकको बीच भागमा घाँस उम्रिएपछि स्थानीय आक्रोशित बनेका छन्।

वर्षौँ देखि हिलो र धुलो भएको सडकमा आवतजावत गरिरहेका स्थानीय सडक कालोपत्र भएपछि खुसी भएका थिए। कालोपत्र गरिएको चार महिना नबित्दै सडकमा घाँस उम्रिन थालेपछि ठेकेदार कम्पनीले गुणस्तरीय काम नगरेको स्थानीयको आरोप छ। सडक कालोपत्र भइरहेका समयमा सम्बन्धित निकायको बेवास्ताका कारण यस्तो अवस्था सिर्जना भएको स्थानीयकोे आरोप छ। ठेकेदार कम्पनी र नगरपालिकाको लापरबाहीकै कारण सडकको छेउछाउदेखि बीच भागमा घाँस उम्रिन थालेको स्थानीेले बताए।

नगरउपप्रमुख जुना चौधरीले कालोपत्र गरेको छोटो समयमै सडकमा घाँस उम्रिएको र कालोपत्रसमेत उप्किन लागेकाले सड्कको अनुगमन गरेर गुणस्तर जाँचका लागि नमुना ल्याबमा पठाइएको बताइन्। त्यस्तै नगर प्रमुख सुशीला शाहीले मापदण्डअनुसार सडक निर्माण नभएको पाइए योजनाअनुसारको रकम भुक्तानी नहुने बताइन्।