सुदूरपश्चिममा दुई पटक सरकार विस्तार गरिदा पनि एमाले र माओवादी बाहिरै
2024/05/01, 12:33
 
dd

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज दोस्रोपटक सरकार विस्तार गरेका छन् । पहिलोपटक आफू मुख्यमन्त्रीको शपथ गरे लगत्तै वैशाख ६ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई नियुक्त गरेका थिए भने आज पनि नागरिक उन्मुक्ति पार्टीकै टीका थापालाई उनले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरे ।

सुदूरपश्चिम प्रदेशमा दोस्रो पटक सरकार विस्तार हुँदा पनि यहाँका ठूला दल एमाले ,माओवादी सरकारमा सहभागी भएका छैनन् । एमालेले यस अघि नै तत्काल सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ । एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले अहिले सरकारमा सहभागी हुने विषयमा कुनै नयाँ निर्णय नगरिएको बताइन् ।‘यस अघि नै सरकारलाई समर्थन गर्ने तर तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेका थियौँ । अहिले सहभागी हुने निर्णय भएको छैन’ उनले भनिन् ।

एमाले सरकारमा सहभागी हुने टुङ्गो नलाग्दै मुख्यमन्त्री दीर्घ सोडारीले आगामी २१ गते विश्वासको मत लिने तयारी गरेका छन् ।मंगलबार बिहान मुख्यमन्त्री सोडारीले गठबन्धन दलका नेताहरूसँग विश्वासको मत लिने बारे छलफल गरेका थिए । एमाले सहित सहभागी बैठकमा सोडारीले २१ गते विश्वासको मत लिने बताएका थिए । यद्यपि एमालेले मन्त्री पठाउने र विश्वासको मत दिने बारे निर्णय गरेको छैन । संसदीय दलले अहिलेसम्म कुनै आधिकारिक निर्णय नगरेकाले नेतृत्वको निर्देशन एमाले पर्खिरहेको छ ।

नेकपा माओवादी केन्द्रले विश्वासको मत पछि मात्रै सरकारमा सहभागी हुने गरि शीर्ष नेताहरूसँग छलफल सुरु गरेको छ । आफूहरू चाँडै सरकारमा सहभागी हुने माओवादी संसदीय दलका नेता मानबहादुर धामीले बताए ।‘मुख्यमन्त्री ज्यूले विश्वासको मतको तयारी गरिरहनु भएको छ । उहाँले विश्वासको मत पाउनुहुन्छ , हामी पनि सरकारमा सहभागी हुन्छौँ’, उनले भने, ‘अहिले छलफल जारी छ त्यसैले ढिला भएको हो । धेरै समय लाग्दैन ।’माओवादीमा मन्त्री बन्ने आकाङ्क्षीहरूको लर्को छ । मन्त्रीको मापदण्ड तयार गर्न पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल समेत तयार गरिएको थियो । उक्त कार्यदलले पनि आफ्नो सुझाव पेश गरिसकेको भन्दै उनले चाँडै माओवादी सरकारमा सहभागी हुने बताए ।

मुख्यमन्त्री सोडारी भने सरकारले चाडै पूर्णता पाउने दाबी गर्छन् । आफूले २१ गते विश्वासको मत लिने तयारी गरेको भन्दै उनले सत्तारुढ दलका सबै सरकारमा सहभागी हुने बताउँछन् । ‘छलफल र संवाद भइरहेको छ । सरकारले चाँडै पूर्णता पाउँछ’, उनले भने ।मुख्यमन्त्री सोडारी केही समय काठमाडौँ बसेर शीर्ष नेताहरूसँगको संवाद पछि कैलाली फर्किएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि उनले भेट गरेका थिए ।

सुदूरपश्चिममा माओवादीको सभामुख सहित ११ र एमालेको पनि बझाङमा निर्वाचित भएका सांसदसहितको संख्या ११ रहेको छ । यहाँ दुई पार्टी सरकार बाहिर रहँदा दुई पटक सरकार विस्तार भइसकेको छ ।मुख्यमन्त्री सहित भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय साना दलले लिँदा ठुला दललाई भागबन्डामा पनि सकस हुने देखिन्छ ।नेपाल प्रेस