आगलागीका कारण सिलगढी खानेपानी अवरुद्ध
2024/05/02, 3:04
 
ss

जंगलमा आगो लाग्दा पाइप लाइन जलेपछि सिलगढी खानेपानी अवरुद्ध भएको छ । खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रको जङ्गलमा लागेको आगोले गैरागाउँ–सिलगढी खानेपानी लाइनको क्रसिङमा रहेका पाइपहरु जलेपछि खानेपानी अवरुद्ध भएको हो । पाइप जलेका कारण पानी आपूर्ति अवरुद्ध भएको सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको कार्यालयका प्रमुख रामचन्द्र धामीले जानकारी दिए ।

जङ्गलमा लागेको आगोले ४ ठाउँमा पाइप जलेको धामीले बताए । जङ्गलमा बाक्लो स्याउला हुँदा आगो अझै बलिरहेकोले पाइप लाइनमा थप क्षति हुनसक्ने उनको अनुमान छ । समितिले बुधबार साँझ एक सूचना जारी गर्दै खानेपानी लाइन मर्मत गर्न कति समय लाग्छ भन्न नसकिने जनाएको छ । समितिले मर्मत नहुन्जेलसम्म पानीमा मितव्ययिता अपनाएर कम खपत गर्न पनि आग्रह गरेको छ ।

खानेपानी अवरुद्ध भएपछि डोटी जिल्ला सदरमुकाम सिलगढीमा खानेपानीको अभाव भएको छ । सदरमुकाममा अर्को मुहानको पानीलाइ एक दिन बिराएर वितरण गर्ने प्रयास समितिले जनाएको छ । उक्त मुहानबाट आउने पानी थोरै भएको हुँदा एकदिन बिराएर पनि खानेपानी आपूर्ति गर्ने सम्भावना कम रहेको समेत समितिले जनाएको छ ।