सुदूरपश्चिममा माओवादी विश्वासको मत पछि मात्रै सरकारमा जाने
2024/05/12, 3:30
 
crct

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक काठमाडौँमा बसेको छ । संसदीय दलका नेता मानबहादुर धामीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा प्रदेश इन्चार्ज गिरिराजमणि पोख्रेल, सह इन्चार्ज विना मगर र प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सव पनि सहभागी रहेका थिए । 

सुदूरपश्चिम प्रदेश सरकार र संसदीय दल भित्रका विषयमा बैठकमा छलफल भएको संसदीय दलका नेता मनबहादुर धामीले जानकारी दिए । अहिले सम्म पनि सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी भएको छैन । उनका अनुसार पहिले विश्वासको मत दिने र सरकारलाई पूर्णता दिने विषयमा बैठकमा छलफल भएको हो ।

‘सुदूरपश्चिम सरकारले अझै विश्वासको मत पाएको छैन। हामी विश्वासको मत दिने तयारीमा छौँ ’ उनले भने ‘पहिले विश्वासको मत दिन्छौँ त्यसपछि सरकार विस्तारलाई तीव्रता दिन्छौँ । ’ बैठकमा धामी सहित सुदूरपश्चिम प्रदेशका आठ सांसद उपस्थित थिए । खगराज भट्ट र जानकीदेवी कुँवर  बाहेक सबै सांसदहरू उपस्थित रहेका थिए ।

यस अघि खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई माओवादी संसदीय दलको नेता बनाएको भन्दै विरोध जनाएका दुई सांसदहरू पनि बैठकमा उपस्थित हुँदा माओवादी एकताबद्ध रहेको सन्देश गएको माओवादी नेताहरूले दाबी गरेका छन् । जनमुखी नीति तथा कार्यक्रम र बजेट ल्याउने गरि तयारी थाल्ने विषयमा पनि छलफल भएको  थियो।